काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रियसभा निर्वाचनमा मतदानको अधिकार प्रयोग नगर्ने तथा बहिष्कार समेत गर्ने जनप्रतिनिधिको भूमिकाप्रति आपत्ति जनाएका छन् ।
राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गर्ने क्रममा प्रमुख आयुक्त थपलियाले मतदान नगर्ने जनप्रतिनिधिप्रति आपत्ति जनाएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले घोषित र केहीले विभिन्न कारण देखाएर मतदानमा भाग लिएका थिएनन् ।
थपलियाले भने आम नागरिकले चाहिँ उहाँहरुलाई भोट हालेर जिताइदिनुपर्ने अनि जनप्रनिनिधि भएपछि अरुलाई भोट हाल्न नजाने ? आफू निर्वाचित हुनु अर्काको मत खोज्नेले आफू चाहिँ मतदानमा सहभागी नहुने कुरा गलत हो ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । संविधानले दिएको भूमिका निर्वाह नगरेकोमा आयोगले आपत्ति जनाएको हो । प्रमुख आयुक्त थपलियाले जनताबाट निर्वाचित जनप्रतिनिधिको मत समेत बदर हुनु पनि दुर्भाग्यपूर्ण रहेको बताए । केही जनप्रतिनिधिको मत राष्ट्रिय सभा निर्वाचनमा बदर भएको पाइएको थियो ।
उनले सो अवसरमा निर्वाचनको मौन अवधिको बेलामा विराटनगरमा कांग्रेस नेता डा.शेखर कोइराला निवासमा गरिएको चियापानप्रति समेत असन्तुष्टि जनाएका छन् । थपलियाले जनप्रतिनिधिले फ्लोर क्रस गरेर अर्को दलका उम्मेदवारलाई मत दिए भन्न नमिल्ने समेत बताए । उनले हरेक मतदाता मतदानका लागि स्वतन्त्र रहेको र जुन पार्टीबाट निर्वाचित भए पनि उनीहरुले संविधान प्रदत्त मतदानको अधिकार प्रयोग गर्न पाउँने बताए ।

Leave a Reply