एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चद्वारा नेपाल-भारत सम्बन्धबारे विज्ञसहितको मन्थन

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमाले भारतविरोधी नभएको बताएका छन् ।

नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध : वर्तमान अवस्था र भावी चुनौतीहरू’ विषयक अन्तरक्रियामा भट्टराईले नजिकको छिमेकी भारतसँग नेपालको बहुआयमिक सम्बन्ध रहेको उल्लेख गरे ।

तर, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्न भने एमाले सधैँ जहिल्यै दृढ रहने उनको भनाइ थियो ।

‘हामी भारतीय विरोधी होइनौं, नेपाली भूमिमा भारतविरोधी गतिविधि हुन दिन्नौं, हामी नेपाललाई भारतविरोधी मुलुकको रुपमा अघि सार्न चाहन्नौं । तर, हाम्रो राष्ट्रिय हित, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको सवालमा चुप लागेर कहिल्यै बस्दैनौं । भारतले पनि एउटा स्वाधीन र स्वतन्त्र मुलुकको रूपमा हाम्रो सम्मान गर्नुपर्दछ भन्ने चाहन्छौं’, भट्टराईले भने ।

टनकपुर सम्झौताको विरोध, कालापानीमा भारतीय सेनाको अतिक्रमणको विरोध, असमान सन्धिविरुद्धमा एमालेले आवाज उठाएको स्मरण गर्दै उनले नेपालको स्वाधीनता र स्वाभिमान रक्षाको निम्ति एमालेले सम्झौताहीन संघर्ष गर्दै आएको बताए ।

कार्यक्रममा मञ्चका अध्यक्ष फूर्वातेन्जिङ शेर्पाले ‘नेपाल-भारत सम्बन्ध : वर्तमान अवस्था र भावी चुनौतीहरू’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले नेपालको स्वाधीनता र स्वाभिमानको रक्षा गर्न नसक्ने जिकिर गरे ।

एमाले केन्द्रीय सदस्य हरिबहादुर राईले विज्ञलाई बोलाएर राजनीतिक तथा समसामयिक विषयमा फरक प्रस्तुतिसहित उदाहरणीय काम गरेको भन्दै सम्पर्क मञ्चको प्रशंसा गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *