काठमाडौं । कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणाममा उलटफेर देखिएको छ । अनपेक्षितरूपमा एमालेकी रुक्मिणी कोइराला विजयी बन्दा कांग्रेसका हेभिवेट उम्मेदवार कृष्णप्रसाद सिटौला त्राहीमाम बनेका छन् ।
गठबन्धनबाट फ्लोर क्रस हुँदा एमाले उम्मेदवारले नतिजा उल्टाएकी हुन् । कोइरालालाई सत्ता गठबन्धनका तीन प्रदेशसभा सांसदले मतदान गरेको पुष्टि भएको छ । त्यस्तै स्थानीय तहका १६ मतदाताले फ्लोरक्रस गरेका छन् । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । रुक्मिणीले ४९ मत ल्याइन् । यो मत परिणामसँगै राप्रपा क्याम्पमा उत्साहको सञ्चार भएको छ ।
यो पनि पढ्नुहोस् – कोशीको गसिप- ३९४/५४३६ को संघर्षमा पनि राप्रपा अचम्मले आशावादी
कोशीमा राप्रपा र एमालेबीच तालमेल भएको थियो । एमालेकी रुक्मिणीलाई राप्रपाले र राप्रपाका उम्मेदवार उद्धव पौडेललाई एमालेले समर्थन गरेको छ । रुक्मिणीभन्दा बढी अन्तरालले पौडेलले जित्नेमा राप्रपाका नेताहरू आशावादी देखिएका छन् ।
राप्रपाले कोशीमा उलटफेर हुने दाबी गर्दै आएको थियो । कांग्रेस र माओवादीका सांसद चोर्न राप्रपाले प्रयास गरेको थियो । उसको प्रयास सार्थक हुने सम्भावना देखिएको स्रोतको दावी छ । रुक्मिणीको विजयपश्चात दोस्रो सीटको मतगणना हुने छ । गठबन्धनसँग आरामदायी बहुमत भए पछि फ्लोर क्रस देखिएपछि सिटौला धरापमा परेका छन् ।
यसअघि आम निर्वाचनमा पराजित भएका उनले गठबन्धनको बलमा राष्ट्रियसभा छिर्ने र अध्यक्षसमेत बन्ने योजना बनाएका थिए ।

Leave a Reply