आजपाद्वारा मधेशमा आमहड्ताल : रौतहटमा मात्र आंशिक प्रभाव

जनकपुरधाम । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले बैंकको ब्याज आतंकविरुद्ध मधेश प्रदेशमा आम हडतालको आह्वान गरेको छ ।

बैंकहरुले मनोमानी ढंगले लिएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रूपमा कर्जाको व्यवस्था गर्नु पर्नेलगायतका माग राखेर आजपाले आज एक दिनका लागि हडतालको आह्वान गरेको हो ।

हडतालको आंशिक प्रभाव रौतहटमा मात्र परेको छ । गौर नगरपालिका र पूर्व-पश्चिम राजमार्गमा आपजाका कार्यकर्ताहरू सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ‌।

गौरबाट लामो दुरीका सवारीसाधन चल्न सकेको छैन ।पूर्व-पश्चिम राजमार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

आजपाका प्रवक्ता चन्द्र भूषण साहले मधेश बन्द गराउने क्रममा धेरै ठाउँमा आफ्नो कार्यकर्ताहरूमाथि प्रहरीले दमन गरिरहेको बताए ।

उनले भने, ‘बैंकले ब्याजको आतंक मच्चाएको र गरिब विपन्नहरू सहज रूपमा ऋण नपाउने स्थिति छ । यसको अन्त्यका लागि हामी आन्दोलनको घोषणा गरेका छौँ ।’

आज एक दिनका लागि बन्द आह्वान गरेको र प्रहरीले दमन गरिरहे साँझमा समीक्षा गर्दै आन्दोलनका थप कार्यक्रमहरू सार्वजनिक गर्ने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *