अन्तरजातीय विवाहका कारण हत्या गरिएका अजित मिजारको न्यायको मागसहित आन्दोलन घोषणा

काठमाडौं । अन्तरजातीय प्रेम सम्बन्धका कारण आठ वर्ष अघि हत्या गरिएका काभ्रेपलाञ्चोकका अजित मिजारको न्यायको लागि विभिन्न दलित संगठन आन्दोलिनत भएका छन् ।

मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्वजनिक गर्नुका साथै अजितले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शनकुमार नेपालीले वर्तमान व्यवस्थाका लागि ठुलो बलिदान गर्ने दलित समुदायले अझै पनि अमानवीय व्यवहार झेल्नु दुःखद भएको बताए । संयोजक नेपालीले सोती घटनाका दोषीले सजाय पाउनु उदाहरणीय भए पनि यथेष्ट प्रमाण हुँदा पनि अजित मिजारका हत्याराले उन्मुक्ति पाउनुले आक्रोशित तुल्याएको बताए ।

आठ वर्षदेखि त्रीवी शिक्षण अस्पतालमा मिजारको शव रहँदासम्म पनि राज्य संयन्त्र र न्यायालयले दोषीलाई छाडेको आरोप लगाए । उनले भने, ‘पीडितको गैर न्यायिक हत्या भएको भनेर यथेष्ट प्रमाण हुँदाहुँदै पनि प्रहरी,प्रशासन,अस्पताल र अदालतेसम्म पनि हत्यारा जोगाउन लागेको छ, जुन हामीलाई सह्यै छैन ।’

जात व्यवस्था उन्मुलन मोर्चा नेपालका अध्यक्ष मण्डल सदस्य शान्ति गजमेरले कथित उचनिचको जात व्यवस्थाको कारण मृतक मिजार जस्ता युवायुवतीले ज्यान गुमाउनु दुःखद भएको बताइन् ।

राज्य सत्तामा पीडितको पहुँच नहुँदा सकभर न्याय नपाउने पाए पनि वर्षौँ लाग्ने गरेको बताउँदै गजमेरले भनिन्, ‘८ वर्षदेखि मिजारको शव टिचिङ अस्पतालमा छ, मुद्दा सर्वोच्च अदालतमा पुगेको छ, पीडितले न्याय र दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ । अब पनि न्याय नपाए हामी जस्तोसुकै संघर्षको लागि पनि तयार छौँ ।’

नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्रकुमार छुटुन्जेलले २१औं शताब्दीमा पनि दलित समुदायले अमानवीय व्यवहार भोगिरहने र राज्य संयन्त्र अपराधीकै पक्षमा रहनु मिजार हत्या काण्ड एक उदाहरण भएको बताए । संयुक्त दलित अधिकार मञ्च नेपालका नेता सुजन शाहशंकरले अड्डा, अदालत, प्रहरी प्रशासन कतै पनि दलितको पहुँछ नहुँदा मिजार जस्ता पीडितले न्याय नपाएको बताए । उनले भने, ‘हे सरकार परिवर्तनका लागि हाम्रो ठुलो त्याग र योगदान, तर पनि समाजबाट जनावरको व्यवहार कहिलेसम्म ?’

अजित मिजारको न्यायका लागि उनीहरूले माघ २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र ३० गते प्रदर्शन गर्ने जनाउँदै त्यसपछि पनि पीडित र परिवारले न्याय नपाए कडा आन्दोलनमा उत्रने घोषणा गरेका छन् ।

काभ्रेपलाञ्चोक ज्याम्दिकी कल्पना पराजुली र काभ्रेपलाञ्चोककै पाँचखालका अजित मिजारसँग २०७३ असार २५ गते बिहे गर्न राजिखुशी भई अजितसँगै घरमा आएकी थिइन् ।

अजित मिजारसँग बिहे गरेको थाहा पाएपछि केटीका बुबा, दिदी फुपुदिदिलगायतका परिचित, अपरिचित व्यक्तिहरुले फोनमार्फत त सानो जातिको भन्दै जातीय विभेदसहितका गाली गलौज गर्दै ज्यान लिनेसम्मका धम्कीहरु दिइरहेका थिए । केटी पक्षले प्रहरी चौकी पाँचखालमा निवेदन दिएपछि असार २७ गते प्रहरीले केटाकेटीलाई परिवारको जिम्मा लगाई पठाएको थियो ।

तर, अजितलगायत अजितको परिवारलाई कल्पनाको बुबा, दिदी र कनैया भन्ने व्यक्तिले फोनबाट ज्यान मार्नेसम्मका धम्कीहरु असार २९ गते १२ः३० बजेसम्म आइरहेका थिए । अजित मिजार २०७३ असार २९ गते रिचार्ज कार्ड लिन गएका अजित घर नजिकैबाट बेपत्ता भएका थिए ।

बेपत्तापछि २०७३ असार ३० गते धादिङको गजुरी फुर्के खोलाको प्रतिक्षालयमा घुडा टेकिएको र घाँटीमा पलास्टिक  त्रिपालको डोरीले झुण्ड्याइएको अवस्थामा सामाजिक सञ्जालमा फोटो सार्बजनिक भयो । परिवार र सरोकारवालाले थाहा पाएपछि सम्बन्धित ठाउँमा जाँदा अजितको शव प्रहरी प्रशासन ‘फेक’ पोस्टमार्टम गरी गाडिएको अवस्थामा उत्खनन गरेर निकालिएको थियो ।

शव निकालिएपछि प्रहरी प्रशासन र पोस्टमार्टम गर्ने हस्पिटल समेत शंकाको घेरामा रहेका छन् । विगत आठ वर्षदेखि अजितको परिवार न्यायको लागि संघर्ष गरिरहेको छ । जिल्ला अदालत धादिङ, उच्च अदालत ललितपुरलेसमेत अजितमाथि न्याय गर्न सकेको छैन । हाल सर्वोच्च अदालतमा आगामी फागुन आठ गते पेशी तोकिएको छ । अजितको शव त्रीवी शिक्षण अस्पताल महाराजगञ्जमाको शव गृहमा रहेको छ ।

Comments

One response to “अन्तरजातीय विवाहका कारण हत्या गरिएका अजित मिजारको न्यायको मागसहित आन्दोलन घोषणा”

  1. Kamala Roka Avatar
    Kamala Roka

    हामी सबै दलित समुदाय एक भएर उसको निर्दोष मृत आत्मा र यो अमानवीुयरुपी समाजको कलङ्क लाई हटाउनु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *