काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडका समस्याबारे सरकारलाई लिखित रूपमा जानकारी गराउँदैछ ।
‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को क्रममा स्थानीयस्तरमा संकलित समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर जानकारी गराउन लागिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । त्यसका लागि बिहान ९ बजे अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली बालुवाटार जाने कार्यक्रम तय छ ।
पार्टीका स्थानीय कमिटी, विभिन्न राजनीतिक दल, उद्योगी-व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेश गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका विविध एजेण्डा प्रधानमन्त्रीलाई लिखित जानकारी गराउने गौतमले बताए ।
एमालेले मंसिर १४ बाट पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ्गसम्म विज्ञ समूहसहित पदयात्रा गरेको थियो । पदयात्राका क्रममा आएका माग, देखिएका समस्यालाई वर्गीकरण गरेर सरकारलाई बुझाउन लागिएको हो ।

Leave a Reply