विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र हुँदै संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाइएको अस्पताललाई आज हृदय रोग केन्द्रको रुपमा उद्घाटन गरिएको छ ।
कोशी प्रदेश सरकार मन्त्रिपरिषद्ले शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन गर्ने निर्णय भएसँगै सोमबार केन्द्रको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा बोल्ने अधिकांशले जनशक्ति व्यवस्थापन चुनौतीको रूपमा रहेको बताए ।
मुख्यमन्त्री केदार कार्कीको निर्देशनमा बनेको हृदय रोग केन्द्र सञ्चालनको लागि अहिलेसम्म जनशक्ति नै नभएको पाइएको छ । अस्पताल सुरु गर्नुभन्दा पहिला त्यसको कर्मचारी संरचना तथा दरबन्दीको व्यवस्था गरेर ओएनएम सर्वेको आधारमा कर्मचारी भर्ना गर्नु पर्ने भएपनि मुख्यमन्त्रीको जोडबलमा अस्पतालको उद्घाटन गरिएको छ । मुटु रोगको बिशिष्टकृत सेवा दिने उद्देश्यले अस्पताल सञ्चालन गरिएको भएपनि अस्पतालमा यस सम्बन्धी विशेषज्ञ छैनन् ।
काठमाडौंबाट डाक्टर ल्याउने भन्दै ३ जना डाक्टरलाई अस्थायी रुपमा राखिएको छ । हृदय रोग केन्द्रमा कार्डीयोलोजिष्ट कुञ्जन शेर्पा समिर पौडेल र सतिस झा लाई डाक्टरको रुपमा ल्याइएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले तत्काल जनशक्तिको अभाव देखेको बताए ।
‘हृदय रोग केन्द्र सञ्चालन गर्नकालागि कार्डियोलोजिष्ट डाक्टरहरू देशभर नै खोजी गरिएको भए पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले समेत फेला पार्न सकेन’, उनले भने ।
देशभरि नै विशेषज्ञ कार्डियोलोजिष्ट फेला पार्न नसकेपछि प्रतिष्ठानका २ जना कार्डियोलोजिष्ट डाक्टहरुलाई केही दिनको लागि ल्याइएको बस्नेतले बताए । ‘कार्डियोलोजिष्ट कुञ्जन शेर्पा र समिर पौडेल तत्काल सेवा दिन आउनु भएको छ’, उनले भने ।
मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका मुटु रोग विशेषज्ञ डा. भगवान् कोइरालाले अहिलेको मूल समस्या भनेको जनशक्ति नै रहेको उल्लेख गरे । एउटा अस्पताल चलाउनकोलागि मनी, म्यानपावर र मेसिन रहेको उल्लेख गर्दै सबैभन्दा ठुलो समस्या जनशक्ति भएको बताए ।
‘पैसा भ्रम हो, उपकरण खरिद भए पनि यो सञ्चालनमा च्यालेन्ज छ’, कोइरालाले भने, ‘जनशक्ति नै अहिलेको सबैभन्दा ठूलो च्यालेन्ज र अप्ठ्यारो छ ।’ हृदय रोग केन्द्र सुरु गरिएको भए पनि यसलाई व्यवस्थित बनाएर नागरिकको मन जित्न सक्नु पर्नेमा उनको जोड छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनशक्तिको समस्या समाधान गर्न प्रदेश सरकारले डाक्टर पढाउने दाबी गरे । ‘जनशक्ति छैनन् भन्ने खालका कुरा हाम्रोलागि नयाँ हैन’, उनले भने, ‘त्यही भएर नै हामीले डाक्टर पढाउनको लागि पैसा छुट्याएका छौँ, पढाएर भए पनि अस्पताल चलाउँछौँ ।’
कोशी प्रदेश सरकारले विशेषज्ञ नआएको अबस्थामा पनि एउटा डाक्टर पढ्न मन गरेको तर आर्थिक अभावको कारण ४०–५० लाख तिर्न नसक्ने व्यक्तिलाई डाक्टर पढाएर ५ वर्षसम्म हृदय रोग केन्द्रमा ल्याएर काम गराउने बताए ।

Leave a Reply