काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी सांसद तथा नेताहरुले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न गरिन् ।
उनले यस वर्षको मंसिर महिनासम्म देशभर साना ठूला गरेर करिब १० हजार ७४५ दुर्घटना भएको प्रहरीको तथ्यांक रहेको बताइन् । उनले यी दुर्घटनामा ९१६ जनाले ज्यान गुमाएका र २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका प्रहरीको तथ्यांक रहेको बताइन् । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु गरेको तथ्यांक आफूले पाएको पनि बताइन् ।
उनले भनिन्, ‘नियमित जस्तो सवारी दुर्घटना भइरहन्छन् । हामीलाई कताकता दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो की ? यो वर्षको मंसिरसम्म मात्र देशभर साना ठूला गरेर करिव १० हजार सात सय ४५ दुर्घटना भएका छन् । जसमा ९१६ जनाले ज्यान गुमाएका छन् । २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुन्छ ।’
ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताए । उनले सरकारले समस्याको समाधान गर्नेगरी काम गरिरहेको बताए । उनले घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर सरकार जान नसक्ने बताए ।
उनले सडकलाई खाल्डाखुल्डी रहित बनाएर, सडक सुधारका कामलाई तिब्रता दिएर र सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गर्ने तथा चालकलाई प्रशिक्षण दिने काम गरेर पनि सवारी साधन दुर्घटनाको समस्या समाधान गर्ने पहल गरिरहेको बताए ।
उनले भने, ‘हामी यसमा गम्भीर छाँै र तपाईंले दिएको सुझाव र प्रश्नहरुको पनि जवाफ आउने गरी नै काम गर्नेछौँ । मौखिक रुपमा भन्दा पनि कामले नै जवाफ दिनेछौँ । समस्याप्रति हामी गम्भीर छौँ । राजनीतिक दल, संसद र संसदीय समितिले पनि आवश्यक सहयोग गर्नुपर्छ । घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर जाँदैनौँ । सडकलाई खाल्डाखुल्डी रहीत बनाएर हुन्छ की, सडक सुधारका कामलाई तीव्रता दिएर हुन्छ की ? सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गरेर हुन्छ की ? चालकलाई प्रशिक्षण दिएर हुन्छ की ? हामी समस्याको निराकरण गर्ने कुरामा हामी गम्भीर छौँ ।’
सरकार सवारी साधन दुर्घटनाको न्यूनीकरणका लागि आवश्यक काम गरेर अघि बढीरहेको बताए ।

Leave a Reply