काठमाडौं । नेकपा एसनिकट अनेरास्ववियूकी अध्यक्ष आरती लामाले विद्यार्थी आन्दोलनमा सहिद भएकाहरूको बारेमा पनि पढाइनुपर्ने बताएकी छन् ।
आइतबार शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि धारणा राख्दै अध्यक्ष लामाले विद्यार्थी आन्दोलनमा सहिद भएका व्यक्तिहरूको बारेमा विद्यालयमा पढाइनुपर्ने बताइन् ।
लामाले विद्यार्थी आन्दोलनबाटै प्राप्त भएको गणतन्त्रदेखि प्रजातन्त्रसम्म विद्यार्थीहरूलाई ज्ञान दिनुपर्नेमा जोड दिइन् ।
‘शिक्षा क्षेत्रमा आवश्यक जनशक्तिको अनुमान गर्न सकिरहेका छैनौ । यस क्षेत्रमा चाहिने जनशक्तिको अनुमान गर्न सकिरहेका छैनौ । शिक्षालाई उत्पादनसँग कसरी जोड्ने त्यसमा ध्यान दिन आवश्यक छ । हाम्रो शिक्षा घोकन्ते मात्रै छ । हाम्रो माटोसँग मेल खाने हाम्रो मौलिकतासँग मेल खाने शिक्षा भएन् । केबल सर्टिफिकेट दिने शिक्षा मात्रै देखिन्छ’, उनले भनिन्, ‘के गर्नुहुन्छ के गर्नुहुन्न भन्नेकुरा विद्यालयमै ज्ञान दिनुपर्छ । प्रेम र बलत्कारमा के फरक छ त्यसबारे विद्यालयहरूबाटै सिकाउनुपर्छ । अहिले बालबालिकाहरू डिप्रेसनमा गइरहेका छन् । बालबालिकाहरूलाई मेन्टल हेल्थमा अनिवार्य गर्नुपर्नेमा ध्यान दिनुपर्छ ।’
अंग्रेजीमा पढ्ने विद्यार्थीको माइन्डसेट र नेपालीमा पढ्ने विद्यार्थीको मनशक्तिमा भिन्नता छ । अंग्रेजी नै सबैकुरा हो, अंग्रेजी भाषामात्र ठूलो हो भन्ने भाष्य निमार्ण गर्न खोजिएको भन्दै उनले आपत्ति जनाइन् ।
‘सरकारी विद्यालयमा पनि निजी विद्यालयमा जसरी लेबल बनाएर शुल्क लुट्ने काम मात्रै भइरहेको छ । विद्यार्थीहरू आत्माहत्या गरिरहेका छन् । के यस्तो खालको समाजवाद हामीले चाहेका हौ ?’, अध्यक्ष लामाले प्रश्न गरिन्, ‘हामीले ल्याएको व्यवस्थाबारे विद्यार्थी रहरूलाई पढायौ कि पढाएनौ ? विद्यार्थी आन्दोलनबाट हटाइएको राजतन्त्र, लोकतन्त्र, संघीयताबारे पढाउन जरूरी छ । विद्यार्थी आन्दोलनमा सहिद भएकाहरूको बारेमा पढाइनुपरछ । सबैले यस व्यवस्था रहेको महत्व बुझ्नुपर्छ ।’

Leave a Reply