मेयर चुनाव जितेर मालदिभ्सका प्रतिपक्षी दलका नेताले भने- मालेमा ७१ प्रतिशत जनता सरकार विरोधी

काठमाडौं । मालदिभ्सका पूर्व राष्ट्रपति तथा प्रमुख प्रतिपक्षी दल माल्दिभियन प्रजातान्त्रिक पार्टीका प्रमुख इब्राहिम महोमद सोलिहले राजधानी मालेका ७१ प्रतिशत जनताले सरकारको विरोध गरेको बताएका छन् ।

हालसालै सकिएको मालेको मेयर चुनावमा जिते पछि उनले यस्तो बताएका हुन् । माल्दिभियन प्रजातान्त्रिक पार्टीका मेयर उम्मेदवार आदम अजिमले सत्ताधारी दल मालदिभ्स प्रगतिशील पार्टीका उम्मेदवार आजिमा सुकोरलाई पराजित गरेसँगै सोलिहले यस्तो बताएका हुन् ।

मालदिभ्सको मिडिया अटोल टाइम्सका अनुसार हालसालैको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपतिसँग पराजित भएका सोलिहले राष्ट्रपति चुनावको ताजा हार पछि पनि मालेको मेयर चुनाव जितेर सरकार विरोधमा मालेका ७१ प्रतिशत जनता भएको देखिएको बताएका छन् ।

हालका राष्ट्रपति महोमद मैजू पनि मालेका पूर्व मेयर हुन् । मालदिभ्सको मालेको मेयर चुनावको खासै चर्चा नगर्ने भारतीय मिडियाहरूले यो चुनावको भने व्यापक चर्चा गरेका छन् । चीन पक्षका राष्ट्रपतिको दलका उम्मेदवार हारेर भारत पक्षले जितेको भन्दै भारतीय मिडियामा समाचारहरू आएका छन् ।

मालदिभ्सका राष्ट्रपति महोमद मैजू चीनसँग नजिक देखिन्छन् । उनले भारतको पहिलो भ्रमण गर्ने परम्परा तोड्ने देखी भारतबाट हुने एयर एम्बुलेन्स, खाद्यान्न तथा औषधि आयात कम गर्न टर्की, चीन, युरोप तथा अमेरिकासँग साझेदारीका कार्यक्रम सार्वजनिक गरेका छन् ।

पूर्व राष्ट्रपति सोलिह भने भारतसँग उदार छन् । उनको सरकारले भारत प्रथम भन्ने विदेश नीति लिएको थियो । उनले मैजूसँग चुनावमा हारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *