मुलुक बर्बादीतर्फ होइन, प्रगतितर्फ गइरहेको छ: शक्ति बस्नेत

कैलाली । नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले मुलुक प्रगतिको बाटोतर्फ लम्किरहेको बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा उनले सुशासन, समृद्धि र सामाजिक विकासका दृष्टिकोणले सरकार निकै अगाडि बढेको बताए ।

‘अब मुलुक सुशासन, समृद्धि र सामाजिक विकासको एजेन्डा बोलेर सामाजिक न्यायको पक्षमा अगाडि बढेको छ’, मन्त्री बस्नेतले भने, ‘आर्थिक र सामाजिक रूपान्तरणको नयाँ प्रक्रियामा मुलुक अगाडि बढेको छ ।’

मुलुक बर्बाद हुँदै गइरहेको भाष्य तयार गरिरहेकाे बताउँदै उनले भने, ‘त्यस्तो होइन, प्रगति र उन्नतितर्फ अगाडि बढिरहेको छ । अस्तिभन्दा हिजो र हिजोभन्दा आज प्रगति भइरहेको छ ।’

बस्नेतले विद्युत् उत्पादनमा नेपालले पछिल्लो आठ वर्षमा ठूलो फड्को मारेको दाबी गरे ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि २ हजार ९०० मेगावाट विद्युत उत्पादन भइसकेको छ । तीन महिनामा ५०० मेगावाट विद्युत थप हुँदैछ’, ऊर्जामन्त्री बस्नेतले भने, ‘७८ वर्षमा नेपालमा २२ प्रतिशतले विद्युत पाइरहेका थिए । अहिले ९८ प्रतिशत जनताको पहुँचमा विद्युत पुगिसकेको छ ।’

उनले अहिले २६ लाख घरपरिवारले निःशुल्क विद्युत प्रयोग गरिरहेको दाबी गरे । ‘यो तथ्यले मुलुक बर्बादीतर्फ गइरहेको छैन, प्रगतितर्फ गइरहेको छ भन्ने पुष्टि गर्छ’, उनले भने, ‘यो तथ्यलाई सही ढंगले अगाडि बढाउनु पर्छ ।’

सरकार यही मर्म र भावना आत्मसात गरेर अगाडि बढिरहेको बस्नेतको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *