नीति-कार्यक्रम र बजेटको ढाँचा बदल्ने प्रधानमन्त्रीको इच्छा, थाले छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको ढाँचा र प्रक्रियामा परिमार्जन गर्ने विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्रीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत तथा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्रीले अनुमान र हचुवाको भरमा सिलिङ नतोक्न र त्यसक्रममा सम्बन्धित मन्त्रालयहरूलाई पनि बोलाएर छलफल गरी सबैका कुरा सुन्न, केन्द्रमा राख्ने तथा प्रदेश र स्थानीय तहमा पठाउने योजनाहरुको स्तर निर्धारणबारे प्रष्ट खाका निर्माणको लागि आवश्यक तयारी गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रत्येक आर्थिक वर्षमा कुनै विशेष रणनीतिक योजनामा केन्द्रित हुनेगरी नीति, कार्यक्रम र बजेट तयार गर्न, अधुरा पुराना योजनालाई उच्च प्राथमिकता दिन तथा अनावश्यक नयाँ योजना नथप्न पनि निर्देशन दिए ।

गत पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको निर्माणमा परम्परागत शैली हटाएर सबैको अपनत्व कायम गर्ने घोषणा गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *