ललितपुर । दिनदिनै बढिरहेको सडक दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुरहरुले अभियान नै सुरु गरेका छन् ।
आइतबार ललितपुरको लगनखेलबाट अभियानको सुरुआत गर्दै उनीहरूले मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउने, सवारीसाधन चलाइरहँदा मोवाइल फोनको प्रयोग नगर्ने, तीव्र गतिमा सवारीसाधन नचलाउने प्रतिबद्धता जनाएका छन् ।
यस्तै राज्यले तोकेको भन्दा बढी भाडा नलिने, आफ्नो सवारीसाधनमा यात्रा गर्ने महिला, बालबालिका, बृद्धबृद्धालाई सम्मान गर्ने, बाल श्रमको प्रयोग नगर्ने, सभ्य भाषा प्रयोग गर्ने र ट्राफिक नियमको पालना गर्ने प्रतिबद्धता पनि उनीहरूको छ ।
यातायात मजदुरहरूलाई नै दुर्घटनाको कारक बनाउने र दुर्घटनापछि मजदुरहरू भौतिक रूपमै असुरक्षित हुने अवस्था आएकाले मजदुरहरू स्वयमले सडक दुर्घटना न्यूनीकरण अभियानमा लागेको उनीहरूले बताएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला कमिटीले लगनखेल बसपार्कमा खुल्ला रूपमा सडक सचेतना सम्बन्धी अनुशिक्षण कार्यक्रममा ललितपुरका २ सय चालक, सहचालक तथा परिचालकहरूले जिम्मेवार यातायात मजदुरका रूपमा आफूलाई विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई लगायतका नेतृत्व, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका तर्फबाट डिएसपी सुनिलजंग शाह, ट्राफिक प्रहरी कार्यालय ललितपुरका प्रमुख शालिकराम तिम्सिना लगायतको उपस्थितिमा मजदुरहरूले प्रतिबद्धता जनाएका हुन् ।

देशमा प्रत्येक दिन ७ देखि ८ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाइरहेको, वर्षमा सडक दुर्घटनामा परेर सरदर २ हजार ८ सय ८० जनाले ज्यान गुमाइरहेको र प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति घाइते भइरहेको संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुनिलजंग शाहले नेपालमा भित्रिरहेको अनियन्त्रित सवारीसाधन सडक पूर्वाधार विकासमा आएको सुस्तताले ट्राफिक व्यवस्थापनमा चुनौतीसँगै सडक दुर्घटनामा वृद्धि भइरहेको बताए ।
अहिले अधिकांश सडक दुर्घटनाको अध्ययन गर्दा दुई पाङ्ग्रे सवारीसाधन र चार पाङ्ग्रे सवारीसाधन एकापसमा जुधेर दुर्घटना भइरहेको र दुई पाङ्ग्रे सवारीसाधनका चालकको उमेर कम हुने गरेको पाइएको बताए ।

कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले मजदुरहरूको हक, हित र अधिकारको मुद्दा यस संगठनले ४५ वर्षदेखि गर्दै आइरहेको भए पनि यति बेला सडक दुर्घटना सबैले चासो राख्नु पर्ने भएकाले संगठनले यो अभियान चलाएको बताए ।
अभियानमा संगठनका उपाध्यक्ष विष्णु लामा महासचिव केशव थापा, बागमती प्रदेश अध्यक्ष शंकर थापा, सचिव शिवकुमार श्रेष्ठ, सहसचिव गणेश श्रेष्ठ लगायतको उपस्थिति थियो । सुग्रीव थिङले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता विनोद बुढाथोकीले गर्नुभएको थियो ।

Leave a Reply