बुटवलका सुदीप ज्ञवाली १२ दिनदेखि बेपत्ता

रूपन्देही । नयाँ वर्ष मनाउन काठमाडौंदेखि बुटवल आउन भनी हिँडेका सुदीप ज्ञवाली १२ दिनदेखि बेपत्ता भएका छन् । यही पुस १२ गते काठमाडौंको धापासीबाट घर आउँदै छु भनी हिँडेका ३५ वर्षीय ज्ञवालीका अवस्था पत्तो नलागेको परिवारले जनाएको छ ।

ज्ञवालीले श्रीमती झरनालाई फोन गरी आफू घर आउन लागेको जानकारी गराएका थिए तर उनी कहाँ कस्तो अवस्थामा रहेको भन्ने अझैसम्म कुनै जानकारी नआएको परिवारले जनाएको छ ।

ज्ञवाली बेपत्ता भएपछि आफन्तले इलाका प्रहरी कार्यालय बुटवल र प्रहरी प्रधान कार्यालय महाराजगन्जमा खोजी गरी पाउँ भनी निवेदन दिएका छन् ।

बुटवल उपमहानगरपालिका—१२ मा बस्दै आएका ज्ञवाली कामको सिलसिलामा हाल काठमाडौँ बस्दै आएका थिए । उनका श्रीमती र छोरा भने बुटवलमै बस्दै आएका छन् ।

‘१२ गते साँझ ७ः१२ मा फोन गरेर हिँडे भन्नुभयो, त्यसपछि फोन लागेन’, श्रीमती झरनाले भनिन् । काठमाडौँ बसपार्कमा बुझ्दासमेत बुटवलतर्फ आउने कुनै पनि बसमा टिकट नकाटेको पाइएको उनले बताइन् ।

‘उहाँको परिवार, आफन्त र साथीभाइ सबैसँग राम्रो सम्बन्ध र व्यवहार थियो, घरमा कुनै झैझगडा समेत भएको थिएन, दिनहुँ छोरासँग फोनमा कुरा गरेर मात्र सुत्नुहुन्थ्यो, यतिका दिन कहाँ जानुभयो थाहै भएन’, श्रीमती झरनाले भनिन् ।

ज्ञवालीका ससुरा घनश्याम मरासिनीका अनुसार औषधी कम्पनीमा एमआरको रूपमा काम गर्दै आएका ज्ञवालीको प्रहरीले खोजतलास गर्ने क्रममा पुस १२ गते गैंडाकोटको शीलन्यास चोकमा मोबाइलले लोकेशन देखाएको थियो । यति लामो समय सम्पर्क नहुँदा निकै तनाव थपिएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *