पोखरा । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । एमालेले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि १९ वटै सीटमा उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । निर्वाचनका लागि सोमबार उम्मेदवार दर्ताको मिति तय गरिएको छ ।
नामावलीअनुसार गण्डकी प्रदेशबाट महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटाले एमालेबाट उम्मेदवारी दर्ता गराउने छिन् । एमालेले अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचनलाई उम्मेदवार बनाउँदा महिला क्लष्टरमा देवकोटालाई बनाउन लागेको हो ।
एमाले प्रदेश समितिले महिला क्लष्टरमा देवकोटासहित कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको नाम केन्द्रमा पठाएको थियो । केन्द्रले देवकोटालाई अघि सार्ने निर्णय गरेको हो ।
उनी गएको स्थानीय तहको निर्वाचनमा गोरखा नगरपालिका मेयरमा उम्मेदवारी बनेकी थिइन् । मेयर उम्मेदवार बनेकी देवकोटा तेस्रो भएकी थिइन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण राना ८ हजार २ सय ९५ मत ल्याउँदै विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजनराज पन्तले ६ हजार ४ सय ५६ र देवकोटाले ४ हजार ९ सय ९ मत प्राप्त गरेकी थिइन् ।
देवकोटा पार्टीकी केन्द्रीय सदस्य हुन् । एमाले गण्डकी अध्यक्ष नवराज शर्माले चुनावी परिणाम फरक विषय भएको भन्दै सक्षम र योगदान गरेकाहरुलाई उम्मेदवार बनाइएको बताए । ‘चुनावी परिणाम प्राविधिक कुरा हो । पार्टीमा दुःख गरेका र सक्षम नेताहरुलाई उम्मेदवार बनाएका छौँ’, उनले भने

Leave a Reply