गरिबी निवारण कोषको रकम लगानी भएका ५५१ पालिकालाई अद्यावधिक विवरण पठाउन परिपत्र

काठमाडौं । गरिबी निवारण कोषको रकम लगानी भएका ५५१ स्थानीय तहलाई अद्यावधिक विवरण पठाउन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिपत्र गरेको छ ।

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत गरिबी निवारण कोषको रकम लगानी भएका ५५१ स्थानीय तहलाई परिपत्र गरेको हो ।

पाँच वर्ष अघि २०७५ साल कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले गरिबी निवारण कोषको पुनर्संरचना लागि स्वीकृत गरेको कार्य योजनाको बुँदा नम्बर ४.१ मा कोसद्वारा प्रवर्द्धित सामुदायिक संस्थाको घुम्ती कोषसहितको विस्तृत विवरण स्थानीय तहलाई उपलब्ध गराउने भन्ने उल्लेख छ ।

साथै बुँदा नम्बर ४.४ मा कोषले विकास गरेका साना पूर्वाधार विकास आयोजनाको लगत विवरण सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने भन्ने उल्लेख छ ।

त्यसै अनुसार घुम्ती कोषसहितको विस्तृत विवरण र आयोजनाको लगत विवरण गरिबी निवारण कोष लागू भएका पालिकामा तत्कालीन समयमा पठाइएकोमा अहिलेसम्म सम्बन्धित पालिकामा रहेका सामुदायिक संस्थाको विवरण, घुम्तिकोषको अवस्था र सामुदायिक संस्थाको साझेदारी रकम लगानीको हालको यथार्थ अवस्था के कस्तो र कुन अवस्थामा छ विवरण संकलन गरी अद्यावधिक राख्न परिपत्र गरेको हो ।

यस्तै उक्त रकमको अनुगमन गर्न तथा त्यसको अद्यावधिक विवरण यथाशीघ्र मन्त्रालयमा उपलब्ध गराउनुका साथै त्यसको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाउन पनि सचिव स्तरीय निर्णय भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *