कानूनमन्त्रीले न्यायाधीशलाई फोन गरेर चैतन ऐडीका हत्यारा छुटाएको अखिलको आरोप

काठमाडौं । जिल्ला अदालत बाजुरा र उच्च अदालत दिपायलले गरेको फैसला सर्वोच्च अदालतले उल्टाएपछि अहिले चेतन ऐडी हत्या प्रकरणमा राजनैतिक पहुँच हाबी भएको आरोप लागेको छ ।

आज काठमाडौँमा प्रदर्शन गर्दै एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले कानूनमन्त्री धनराज गुरुङले सर्वोच्च अदालतका न्यायाधीशलाई फोन गरेर दोषीलाई उन्मुक्ति दिएको आरोप लगाएको छ ।

अनेरास्ववियु महासचिव नरेश रोकायाले फैसलामा पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खातीले पनि सेटिङ गरेको आरोप लगाए ।

‘सर्वोच्च अदालतमा पूर्व महान्यायाधिवक्ता सेटिङ गर्नु भयो । फैसलाको दिन वर्तमान कानूनमन्त्रीले त्यहाँको न्यायाधीशलाई फोन गर्नु भयो उहाँको फोनको माध्यमबाट कैद सजाय भुक्तान गरिरहेको अपराधीहरुलाई छुटाउने निर्णय गरेको छ’, महासचिव रोकायाले भने, ‘सर्वोच्च अदालतले दिन दहाडै न्यायको हत्या गरेको छ ।’

मन्त्रीले फोन गरेको भनिएका न्यायाधीश प्रकाशमान सिंह राउत हुन् । राउत र अब्दुल अजिज मुसलमानको इजलासले दुई तहका अदालतको फैसला उल्टाउँदै हत्यामा दोषी ठहर भएकाहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश राउत इजलासमा भइरहेका बेला कानून मन्त्रीको फोन आएको र जाहेरीकर्ताले पेशी सार्न निवेदन दिँदा पनि राउतले नमानको आरोप अखिलको छ ।

गत मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा घरबाटै झिकेर बीभत्स हत्या गरिएका अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा पक्राउ परेका ६ जनालाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएपछि अनेरास्ववियुले आन्दोलन सुरु गरेको हो ।

अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

अनेरास्ववियुले राजनैतिक सेटिङमा उनीहरूलाई उन्मुक्ति दिएको आरोप लगाएको छ ।

‘चारवटा भिडिओ छ । पुर्पक्षमा रहेकाहरूलाई जिल्ला र उच्च अदालतले छोड्न मिल्दैन भन्यो’, उनले भने, ‘२२ जना प्रतिवादीहरूलाई समात्नु पर्छ जन्मकैद गर्नु पर्छ भनेका थियौँ तर सेटिङमा दोषीहरूलाई उन्मुक्ति दिने न्यायाधीशविरुद्ध हामी भण्डाफोर गर्छौ ।’

अनेरास्ववियु अध्यक्ष समिक बडालले पनि न्यायालय सेटिङमा रहेको पुष्टि भएको बताए । ‘न्यायाधीश हुनुभन्दा पहिले नेपाली कांग्रेसको समितिमा रहेको हामीले जानकारी पाएका छौँ’, उनले भने, ‘फैसला हुँदै थियो न्यायाधीशको सेटिङमा मन्त्रीको निर्देशनमा न्यायालय चल्यो ।’

आपराधिक प्रवृत्तिको न्यायाधीशको भण्डाफोर गर्ने उनले बताए ।

अपराधी सरकार र अपराधी न्यायाधीशको भण्डाफोर गर्ने अभियानमा हामी लाग्छौँ’, उनले भने, ‘यो न्यायको निम्ति गरिएको आन्दोलन हो ।’

अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाही गर, न्याय बेच्न पाइँदैन लगाएतका नाराबाजी समेत गरेको थियो ।

 

Comments

One response to “कानूनमन्त्रीले न्यायाधीशलाई फोन गरेर चैतन ऐडीका हत्यारा छुटाएको अखिलको आरोप”

  1. ksp pyl Avatar
    ksp pyl

    वार नामको दलाली संस्था कहाँ छ ? यसका पदाधिकारी कमाउनै व्यस्त होलान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *