सुदन किराँती भन्छन्- भालेको डाकमै मेरो राजीनामा माग्नेहरू हारे (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबै अस्तित्व सम्मान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा यश कुमारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उनले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरे ।

आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको उनले बताए । आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान जनता भएको उनको भनाइ थियो ।

मन्त्री किराँतीले आफूलाई पशुपति बिरोधी नै बनाउनेहरुले पशुुपतिकै नाम जपेर आफ्नो राजीनामा मागे पनि अन्ततः हारेको बताए । उनले पशुपतिनाथको आफूले धेरै सेवा गरेको भन्दै पशुपतिनाथ भगवान नै रहेको निस्कर्ष सुनाए ।

मन्त्री किराँतीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति लक्षित गर्दै नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको गुनासो गरे । उनले भावनामा आएर मात्रै देश नचल्ने बताए ।

यस्तो छ मन्त्री किराँतीको भनाइः

हुनतः अहिले केही मान्छेहरुले जानेर वा नजानेर त्यही व्यवस्थालाई ल्याउन खोज्दैछन् । अब नेपाली समाजले मान्छन् कि मान्दैनन् ? पचाउँछन् कि पचाउँदैनन् ? खोज्दैछन् । सुदन किराँतीले संविधानको व्याख्या गर्छ, यो देश जिम्मा लिन्छु भन्ने नयाँ, युगको नेतृत्व गर्छु भन्ने मान्छेले भालेको डाकमै आँखामा कचेरा नपुछि स्टाटस लेख्छ, राजीनामा । हुँदैछ के ? के संविधानको व्याख्या गर्नु नहुने ?

सबै अस्तित्व सम्मान छ भन्नु नहुने ? राजीनामा दिनुपर्ने ? के मेरो निधारमा मन्त्रीको छाप छ ? म त अहिले दिन तयार छु । यो पदभन्दा देश ठूलो छ । म धर्म मान्छु, मेरो धर्म नेपाली हो, मेरो मन्दीर देश हो, मेरो भगवान जनता हुन् । के हुँदैछ ?

आज नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइयो, ठिकै छ त । भावनामा आएर मात्रै हुँदैन । कसैको मेयरको अफिसमा राजाको फोटो छ रे । फर्किने उल्टो हो त । गोरु पछिपछि गाढा अघि अघि । यो गतिविधिले जान्छ कता समाज ? देश जिम्मा लिन्छु भन्ने साथीहरुले गम्भीरताका साथ समीक्षा गर्नुपर्छ । मलाई त मन्त्री पदमा बसिराख्नु भन्ने छैन । पहिल्यै छोडिदिन्छु आउनुस् साथीहरु भनेकै छु ।

बुबाआमाले सल्लाह गरेर यो छोरालाई मन्त्री बनाउनैपर्छ भनेर जन्माएको पनि होइन । एउटा किसानको छोरो हो भयो । फोटो झुण्ड्याएर होइन केही काम गरौँ भनेर लागेको छु, कसैले हात कसैले खुट्टा समात्छ । कसैले पासो लाउँछ, के अपराध गरेँ, मैले त अपराध गरेको छैन ।

पशुपति हाम्रो सभ्यता र सम्पदा हो । सभ्यताको पनि सभ्यता हो । त्यहाँ गएर गू, मूत सोह्रेँ । मलाई पशुपति बिरोधी नै बनाउन खोजे, पशुपति त भगवान नै रहेछ । पशुुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरु अन्ततः हारे ।

 

Comments

One response to “सुदन किराँती भन्छन्- भालेको डाकमै मेरो राजीनामा माग्नेहरू हारे (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    क्रिश्चियनको कोहि दलाल बन्छ भने नेपालमा भने उसले नेपालमा सधैं हार्छ । चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *