प्रधानमन्त्रीले नै नचाहेपछि सुनापति गाउँपालिकाले फिर्ता लियाे सार्वजनिक बिदा

काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले बिहीबार दिएको सार्वजनिक बिदाको निर्णय फिर्ता लिएको छ । यसअघि गाउँपालिकाले भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने दिन बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गाउँपालिकाको उक्त निर्णयको विरोध भएपछि पुनः सूचना निकाल्दै सार्वजनिक बिदाको निर्णय फिर्ता लिएको जनाएको छ । ‘बिहीबारका दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय भएकोमा उक्त सार्वजनिक बिदा फिर्ता लिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष गिता बिष्टले नेपाल प्रेससँग भनिन, ‘पहिले बिदा दिने निर्णय गर्दा पनि गाउँपालिकाले कोहि कसैसँग सल्लाह गरेन । प्रधानमन्त्री ज्यूसँग वा उहाँको सचिवालयसँग पनि सल्लाह हुन सकेन । आलोकाँचो निर्णय भयो । प्रधानमन्त्री ज्यूको सचिवालयले पनि बिदा नदिन भनेर भन्यो । त्यसैले गाउँपालिकाले बिदा दिने निर्णयबाट फिर्ता भयौं ।’

गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णयपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो कार्यक्रमको कारण सार्वजनिक बिदा नदिन र बालबालिकाहरु आफ्नो कार्यक्रममा सहभागी नगराउन पनि सार्वजनिक निकायहरुलाई निर्देशन दिएको सचिवालय स्रोतले जनायो । यही निर्देशनपछि गाउँपालिकाले पुस १९ गते दिने भनेको सार्वजनिक बिदा फिर्ता लिने निर्णय गरेको हो ।

 

Comments

One response to “प्रधानमन्त्रीले नै नचाहेपछि सुनापति गाउँपालिकाले फिर्ता लियाे सार्वजनिक बिदा”

  1. ksp pyl Avatar
    ksp pyl

    काममा ध्यान दिन्छुभन्ने खुरूक्क गाउपालिकाको भवन उदघाटन गर्न भनेर दिनभरी जाने भनेपछि मांसिर १० को घोषणा नौटंकी नै रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *