रुपन्देहीमा प्रतिबन्धित विषादी र सूचीकृत नभएका बीउ खुलेयाम बिक्री

रुपन्देही । रुपन्देहीका अधिकांश एग्रोभेटहरुले सूचिकृत नभएका र प्रतिबन्धित विषादीहरु बिक्री गर्ने गरेको पाइएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीले गरेको अनुगमनमा लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका र गैडहवा गाउँपालिकाका अधिकांश एग्रोभेट सेन्टरहरु अवैध तरिकाले सञ्चालन भैरहेको पाइएको हो ।

सेन्टरहरु दर्ताबिनै सञ्चालन भएका, अधिकांशको नवीकरण नभएको, नेपालमा सूचीकृत नभएका र प्रतिबन्धित विषादीहरु बिक्री गरेको अनुगमनका क्रममा पाइएको छ । व्यवसायीहरुले विषादी भण्डारण र बीउको गुणस्तरमा समेत उस्तै लापरवाही गरेका छन् ।

अनुगमनका क्रममा सल्लाह सुझावसहित पहिलो पटकलाई सचेत गराएर छाडिएको कृषि ज्ञान केन्द्र रुपन्देहीका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले जानकारी दिए । बीउबिजन, विषादी र मलखाद बिक्री गर्दा तालिम प्राप्त व्याक्तिले मात्रै बिक्री गर्न पाइन्छ । तर, प्राविधिक ज्ञान नभएका अदक्ष व्याक्तिले एग्रोभेट सञ्चालन गर्दा ग्रामीण भेगका किसानहरु ठगिनुपर्ने बाध्यता छ ।

तालिम लिएका पुराना व्यवसायीहरुलाई पनि संशोधन भएका कानून र प्राविधिक ज्ञानका बारेमा पुनर्ताजगी तालिमको आवश्यक देखिएको छ । एउटा एग्रोभेट सञ्चालन गर्दा अथवा नवीकरण गर्दा संघ, प्रदेश र स्थानीय तह तीनै तहका निकायमा दर्ता गर्नुपर्ने प्रावधानले पनि व्यवसायीहरुले एग्रोभेट सेन्टर दर्ता गर्न झण्झट मानिरहेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *