राष्ट्रियसभा निर्वाचनमा एमालेलाई पनि समेट्ने मूडमा प्रचण्ड, ओलीसँगको भेटले के संकेत गर्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई पनि सँगै लिएर जाने गृहकार्य अघि बढाएका छन् । माघ ११ गते राष्ट्रियसभाको १९ सीटमा निर्वाचन हुँदैछ ।

सत्ता गठबन्धन दलहरु मिलेर जाने सहमति बनेको हुँदा राष्ट्रियसभा निर्वाचनमा एमालेले कुनै सीट जित्न सक्ने अवस्था छैन । तर, प्रधानमन्त्रीले एमालेसँग पनि छलफल गरेको माओवादीका एक पदाधिकारीले स्वीकारे ।

उनका अनुसार यस विषयमा प्रचण्डले हिजो बालुवाटारमा एमले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

ती पदाधिकारीले नेपाल प्रेससँग भने, ‘राष्ट्रियसभा निर्वाचन, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेलगायत कानून निर्माणको विषयमा हिजो उहाँले छलफल गर्नुभएको थियो । तर, टुंगिएको अवस्था होइन ।’

सत्ता गठबन्धनमा कुनै समस्या नआउने गरी प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि समेट्न खोजेको ती नेताको भनाइ छ । तर, सीट नै तोकेर भने एमालेलाई प्रधानमन्त्रीले कुनै प्रस्ताव नगरेको उनले बताए ।

तर, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रधानमन्त्रीसँग राष्ट्रियसभा निर्वाचनको विषयमा कुनै छलफल नभएको दाबी गर्छन् ।

उनी भन्छन्, ‘हिजो प्रधानमन्त्रीसँग अध्यक्षज्यूको शान्ति प्रक्रियालगायतको कानून निर्माणको विषयमा छलफल भएको थियो । त्यहाँ राष्ट्रियसभा निर्वाचनबारे कुनै छलफल भएको होइन ।’

उनले गठबन्धनभित्रै भागबन्डाको लछाचुँडी भइरहेको बेलामा एमालेले त्यो अपेक्षा नगरेको बताए । ज्ञवालीले थपे, ‘राष्ट्रियसभाको सीट उहाँहरुलाई पुगेको छैन, भागबन्डा गर्दै हुनुहुन्छ । हामीले हाम्रो तरिकाले तयारी गर्दैछौं ।’

तर, एमाले राष्ट्रियसभाको निर्वाचनलाई उपयोग गरेर गठबन्धन भत्काउन चाहन्छ । एमालेका सचेतक महेश बर्तौलाले नेपाल प्रेससँग भनेका थिए, ‘यो सरकार र गठबन्धन देश र जनताको हितको लागि भत्किनु आवश्यक छ । त्यसैले यो गठबन्धन फोड्न एमाले जे गर्न पनि तयार छ । त्यो देशको लागि हो ।’

यसअघि एमालेले कांग्रेसलाई राष्ट्रपतिबाट मनोनीत हुनेसहित रिक्त २० मा १३ दिएर बाँकी ७ सीट आफूले लिन तयार रहेको प्रस्ताव गरेको थियो । तर, त्यो प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सकारात्मक जवाफ दिएका थिएनन् ।

एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, मनोनीत विमला पौड्यालसहित भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया र रामचन्द्र राईको पदावधि सकिँदैछ।

यो निर्वाचनमा गठबन्धन भत्काएर एक सीट पनि जित्न नसके राष्ट्रियसभामा एमाले ८ सीटमा खुम्चिनेछ । सत्ता गठबन्धन दलहरुबीच आफ्नो रिक्त भएको पद जोगाउँदै एमालेको ९ पदमा भागबन्डा गर्ने सहमति भइसकेको छ । यद्यपि, संख्या टुंग्याउन सकेका छैनन् ।

आज बिहानमात्रै कांग्रेसले माओवादीसँग सीट बाँडफाँटको विषयमा छलफल गरेको थियो । आज बिहान भएको बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए भने कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता रमेश लेखक सहभागी थिए ।

गठबन्धनका दुई ठूला दलबीच अन्य दलसँग पनि छलफल गरेर सीटको भागबन्डा टुंग्याउने सहमति बनेको छ । तर, प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाको बाँकी कामसहित अहिले व्यवस्थामाथि प्रश्न उठिरहेको अवस्थामा सबैलाई समेटेर जानुपर्ने भन्दै एमालेलाई पनि साथमा लिएर जाने मनस्थिति बनाएका छन् ।

उनले सोमबार मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा आफूले यसअघि पनि राष्ट्रिय सहमतिको प्रयास गरेको भन्दै शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र विकासका चुनौतीको सामना गर्न सबैलाई आह्वान गरेका थिए ।

Comments

One response to “राष्ट्रियसभा निर्वाचनमा एमालेलाई पनि समेट्ने मूडमा प्रचण्ड, ओलीसँगको भेटले के संकेत गर्छ ?”

  1. Nagendra Avatar
    Nagendra

    नेपालमा चलेको राजनीतिको मन्त्रः सबै मिल्ने ठग्ने लुट्ने, खाने !!
    गठबन्दन र त्यसको सरकारको धुन छल गरेर दुनिया भुलाउने, आफ्नु स्वार्थ मिलाउन मन लागेको गर्ने ( कानुन, सम्बिधान नैतिकता र लोकतान्त्रिक मान्यता र आचरण केहि परवाह चाहिन्न) अनेक नाममा द्वन्द बढाउने, अस्तब्यस्त बनाउने अन्तमा देश जिम्मा लगाउने !! भारतीय कमाराहरु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *