राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचना बदल्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्ने बताएका छन् ।

मंगलबार दिउँसो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र अन्य कर्मचारीहरूसँगको मन्त्रालयगत छलफलमा महिलालाई प्राथमिकता दिने नीति र महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायलाई प्राथमिकता दिने नीति लागू गर्न निर्देशन दिए ।

उनले भने, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अत्यन्तै संवेदनशील मन्त्रालय हो । तर, हामीले यसलाई जति प्राथमिकता दिनुपर्ने हो, त्यसो गर्न सकेका छैनौं । तसर्थ, आगामी दिनमा यसलाई प्राथमिकता दिनेगरी यसको पुनर्संरचना आवश्यक छ ।’

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेशराज आचार्यले पछिल्लो समयमा बाल सुधार गृहहरूमा केही समस्याहरू देखिएको र ती समस्याहरूको अन्तर्यमा कानूनी प्रबन्ध नै मुख्य रूपमा जिम्मेवार रहेको बताउँदै त्यसका निम्ति आवश्यक पहल लिनुपर्नेमा जोड दिए ।

सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले समाज कल्याण परिषद्को पुनर्संरचनामा जोड दिँदै विदेशी दातृ निकायबाट प्राप्त हुने अनुदान र सहयोगलाई पारदर्शी, व्यवहारिक र परिणाममुखी बनाउनुपर्ने बताए । बाल मन्दिर र बाल सुधार गृह व्यवस्थित गर्न कानूनी प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।

सचिव अर्यालले लैंगिक हिंसा, बाल अधिकार, ज्येष्ठ नागरिक प्रवर्द्धनलगायतका काम गरिएको बताउँदै बालबालिकासम्बन्धी व्यवस्थित कानून नहुँदा बाल सुधार गृहमा विभिन्न समस्या देखिएको, दुर्व्यसनका विभिन्न समस्याहरू आइरहेकाले अध्यादेश नै ल्याएर भए पनि ऐन बनाउने कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *