कवि निर्भीकजंगको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक

काठमाडौं । कवि निर्भीकजंग रायमाझीको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक भएको छ ।

शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति एवं कवि भूपाल राई र कवि मोमिला र कवि श्यामलले संग्रह विमोचन गरेका हुन् ।

कवि मोमिलाले निर्भीक थोरै शब्दमा धेरै भाव अटाउने सामर्थ्य राख्ने अहिलेको पुस्ताको जबर्जस्त कवि भएको बताइन् । ‘निर्भीकको कविता पढ्दा हामी समय खेर फालिरहेका छैनौं बरू कविता सेलिब्रेट गरिरहेका छौं भन्ने महसुस हुन्छ’, मोमिलाले भनिन् ।

यस्तै कवि श्यामलले भित्री मनसम्म लैजाने‌ शक्ति निर्भीकका कवितामा रहेको बताए । लय व्यवस्था दुरुस्त उतारेर कविता लेख्ने निर्भीकभित्र ‘क्रियटिभ पागलपन’ रहेको उनको भनाइ थियो ।

‘सामान्य मान्छेले न यो संसार बनाउँछ, न कविता लेख्न सक्छ। न भावनाको संसार बनाउँछ, न इन्जिनियरिङ गर्न नै सक्छ। त्यसका लागि क्रियटिभ म्याडनेस चाहिन्छ’ उनले भने, ‘देवकोटा, भूपि, हरिभक्तमा क्रियटिभ पागलपन थियो, त्यो पागलपनको अंश निर्भीकमा पनि छ।’

सिर्जनाका निमित्त पागलपन जरुरी हुने बताउँदै उनले ‘त्यसरी त कहिल्यै सोचिएन’ पछिल्लो समयको बलियो हस्तक्षेप भएको बताए।

यसैगरी कवि भूपाल राईले निर्भीकलाई सुरुमा पत्रकारको रूपमा चिनेको बताए । उनले थपे, ‘खरिलो प्रश्न गर्ने एक युवाको रूपमा सुरुमा मैले निर्भीकलाई चिनेको हुँ, त्यसपछि उनका कविता पढेँ । म धेरै प्रभावित भएँ। ईर्ष्यालाग्दो लेखन उनमा छ ।’

एक दशकदेखि कविता लेखनमा सक्रिय निर्भीकजंगका कविता, निबन्ध तथा रिपोर्टिङहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित छन् ।

प्रेम, राजनीति, सामाजिक विभेद आदि विषयमा लेखिएका ५० थान कविता ुत्यसरी त कहिल्यै सोचिएनु संग्रहमा संकलित छन्।

कलम प्रकाशनले प्रकाशन गरेको कविताकृतिको मूल्य ३ सय ७५ रुपैयाँ राखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *