रुपन्देही । बुटवलको कालिकापथमा तीन दिने सडक खाना महोत्सव सुरु भएको छ । नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारासहित पाँचौं सडक खाना महोत्सव २०८० शुरु भएको हो।
प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले शनिबार महोत्सव उद्घाटन गर्दै खाना महोत्सवको इतिहास धेरै पुरानो भएको बताए। समुद्रमा पाइने माछाका परिकारहरु पकाएर सडकमा खाने रुपमा ग्रिसबाट चलेको तर पछिल्लोसमय शहरीकरणसंगै वातावरण स्वच्छ, हाइजेनिक रहेको पुष्टि गर्ने रुपमा यो चल्न थालेको उनले बताए ।
विश्वका कुनै ठाउँमा खाना खाने समयको रोकतोक नभएको भन्दै सुरक्षाको ब्यवस्थापन भने सरकारको जिम्मेवारी भएको उनको भनाइ थियो । रुपन्देहीमा हालको पर्यटकभन्दा दोब्बर संख्या भित्रिँदासमेत थेग्नसक्ने स्तरका होटलको क्षमता रहेको तर अहिले पर्यटन व्यवसायी संकटमा परेको उनले दाबी गरे।
कार्यक्रममा उद्योगमन्त्री रोज राणाले भाषण गर्ने कार्यक्रम सहि नभएको बताए। उनले टेबलमा बसेर नीति निर्माणमा अघि बढ्नुपर्ने सुझाव दिँदै नेताको भाषणबाट जनताहरु रुष्ट भैसकेकाले अब काम गरेर देखाउनुपर्ने बताए। देशमा भित्रने पर्यटनलाई प्रशासनबाट सडकसडकमा दिइने हैरानी रोक्न आजको आवश्यकता भएको उनको भनाइ थियो ।
लुम्बिनी प्रदेशका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले अब लुम्बिनीको विकास देशकै मोडल भएको बताए। लुम्बिनी प्रदेशमा बनाउनेभन्दा पनि ब्यवस्थापन जरुरी रहेको उनले बताए। पूर्वमन्त्री तथा सभासद भोजप्रसाद श्रेष्ठले बुटवललाई पहिचान दिलाउने रुपमा मेलामहोत्सव भएको बताए ।
जनता बिनाको विकास अपूरो हुने भन्दै उनले उपभोक्ता समितिमार्फत गरिएको काम सधै सफल हुने उनले बताए। साबिक लुम्बिनीको साख बचाउने रुपमा अभियान चलाउन जरुरी रहेको उनले बताए । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको मेला, सडक महोत्सव एउटा मोडेलका रुपमा रहेको भन्दै यहाँ पर्यटकको कमी नभएको बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल,संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार माधव नेपालले व्यवसाय प्रवद्र्धनमा मेलामहोत्सव महत्वपूर्ण हुने भन्दै यसको निरन्तरता जरुरी रहेको बताए ।
कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले जातजातीको संस्कृति पहिचान हुने गरी सडक खाना महोत्सव आयोजना गरेको बताउँदै सुस्ताएको होटल ब्यवसायलाई उकास्न थोरै भएपनि सहयोग मिल्नेमा आशावादी रहेको जनाए ।
वरिष्ठ उपाध्यक्ष माधव खनालले बुटवलमा रात्रीकालीन बजारको दबाब स्वरुप सडक खाना महोत्सव शुरुवात गरेको बताए । वि.सं २०७५ सालमा पहिलोपटक सडक खाना महोत्सव गरेको उनले बताउँदै पर्यटन प्रवर्द्धन हुने गरी पर्यटन भित्र्याउने पहलका रुपमा कार्यक्रम भएको बताए ।
काठमाडौ, पोखरामा हुने कार्यक्रम रुपन्देहीमा पनि सम्भावना छ भन्ने कुरा प्रमाणित गर्न सफल भएको उनले दाबी गरे । बाह्य पर्यटकहरु ईटलीबाट फ्रेन्सेसको, लुकिया र जापानकी मानमी टुस टियमलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
एक सय स्टलहरुमा विभिन्न जाति र संस्कृतिका पहिचान झल्किने खानाका परिकारहरु राखिएका छन् ।


Leave a Reply