१२२ वर्ष अघि बि.स. १९५८ वैशाख ११ गते गोरखापत्र प्रकाशन सुरु हुन १३ दिनअघि गोरखापत्रमा के छाप्न हुने के नहुने सनद जारी गरिएको थियो । छाप्न नहुने विषयमा ‘हाम्रा तारिफका कुरा नछाप्नु’ भनेर प्रष्ट उल्लेख गरिएको थियो । जहानियाँ राणा शासक देव शमशेरले जारी गरेको सनदमा उल्लेख भएको ‘हाम्रा तारिफका कुरा नछाप्नु’ भन्ने वाक्य गोरखापत्रमा कार्यान्वयन भइदिएको भए गोरखापत्र शासकको होइन जनताको पत्रिका बन्थ्यो ।
गोरखापत्र १२२ वर्ष लामो इतिहास बोकेको नेपालको एक मात्र समाचारपत्र हो । देव शमशेरले सनदमा उल्लेख गरेको ‘हाम्रा तारिफका कुरा नछाप्नु’ भन्ने कुरा मात्र पनि सरकारमा पुग्नेहरू र गोरखापत्रका विभिन्न पदमा पुग्नेहरूले बुझेर कार्यान्वयनमा ल्याइदिएको भए आज यो पत्रिकाले सामाजिक सञ्जाल भरी यति आलोचना भोग्नुपर्ने थिएन ।
यो पत्रिकाको आजको अंकको पहिलो पृष्ठले सरकार देख्यो, मन्त्री देख्यो, सरकारमा रहेको राजनीतिक दल देख्यो तर राजधानीको बालकुमारीमै गोली लागेर दुई दुई जना जनता मारिएको देख्दै देखेन । प्रथम पृष्ठमा सो समाचारले प्राथमिकता पाएन । ऐतिहासिक पत्रिका गोरखापत्रको सरकारमा पुगेका राजनीतिक दलले कसरी हुर्मत लिइरहेका छन् भन्ने आजको यो एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो ।
गोरखापत्रको ऐतिहासिक महत्वका कुरा गर्दा यो पत्रिका नेपाली पत्रकारिता क्षेत्रको ज्यूँदो इतिहास हो । १२२ वर्ष देखि कुनै पत्रिका निरन्तर प्रकाशित भइरहनु चानचुने कुरा होइन । गोरखापत्रभन्दा अगाडी प्रकाशित भएका दुई पत्रिकाहरू गोरखा भारत जीवन र सुधा सागरका कुनै प्रतिहरू भेटिँदैनन । तर गोरखापत्रको निरन्तर प्रकाशनले नेपाली पत्रकारितामा यसले स्पष्ट इतिहास राख्न सफल भएको छ । गोरखापत्रमा काम गरेर हजारौँ पत्रकार उत्पादन भएका छन् । गोरखापत्र पत्रकार उत्पादन गर्ने साझा पाठशाला पनि हो । गोरखापत्र प्रकाशित हुन थालेको लामो समयसम्म पनि पत्रिका भनेकै गोरखापत्र हो भन्ने मानक यो पत्रिकाले स्थापित गरेकै हो ।
गोरखापत्रको सुरुवात र त्यसपछिका ५० वर्ष सम्म त सूचना सम्प्रेषणको एक मात्र विकल्प गोरखापत्र नै थियो । सुनदेखि नुनसम्मका सूचना यसै पत्रिकामा आउँथ्यो । यो ब्लग पढिरहेका तपाई धेरैले एसएलसीको परिणाम गोरखापत्रबाटै थाहा पाउनुभएको हो । भाषा सम्बन्धी मानकका रूपमा गोरखापत्रलाई हिजोसम्म पनि लिइन्थ्यो । कतै शुद्धाशुद्धि नमिले गोरखापत्र हेर्नु भनिन्थ्यो ।
गोरखापत्र विभिन्न भाषाभाषीका भावना मुखरित गर्ने पत्रिका पनि हो । एक शताब्दी लामो जीवन्त इतिहास हो गोरखापत्र । यस्तो ऐतिहासिकता बोकेको पत्रिकालाई सरकार र सरकारमा रहेका दलहरूको रोल क्रम मिलाएर प्रसस्ती गाउन मै प्रयोग गरिनु दुःखद र खेदजनक विषय हो ।
गोरखापत्र दैनिक सय वर्ष भन्दा लामो इतिहास बोकेको नेपालको समाचार पत्रमा पहिलो हो । दक्षिण एसियामै सय वर्ष भन्दा अघिदेखि पत्रिका प्रकाशन गर्ने देश नेपाल पनि हो र त्यो पत्रिका गोरखापत्र हो भन्दा हामी नेपाली गर्व गर्छौ । तर गोरखापत्रलाई शासक वर्गले आफ्नो प्रसस्ती छाप्न मै प्रयोग गरेर ऐतिहासिक महत्त्व बोकेको पत्रिकाको हुर्मत लिँदै आएका छन् ।
शासक वर्गहरूले बुझ्नु पर्यो समय धेरै परिवर्तन भइसकेको छ । अब गोरखापत्र र अन्य सरकारी मुखपत्रहरुले तिम्रा प्रसस्ती गाउँदैमा जनताले पत्याइ हाल्छन् भन्ने तिम्रा सङ्कुचित धारणा निकालेर फ्याँकिदिए हुन्छ । अब जनताले सूचना लिएर धारणा बनाउनका लागि आमसञ्चारका प्रशस्तै साधनहरू छन् । तर गोरखापत्र देशकै ऐतिहासिक जनताले माया गरेको पत्रिका हो ।
सरकार, गोरखापत्र तिम्रो मात्र पत्रिका होइन, यो जनताको पत्रिका हो । यसमा छापिएका अक्षर अक्षरमा जनताको पसिना पनि छ । त्यसैले गोरखापत्रलाई जनताको हुन देऊ । जहानियाँ राणा शासक भन्दा निरङ्कुश नबन । १२२ वर्षअघि राणा शासक देवशम्शेरले सनद जारी गरी भनेको कुरा ‘हाम्रा तारिफका कुरा नछाप्नु’ किन भने होलान् एक पटक होइन पटक पटक मनन गर । गोरखापत्रलगायत सरकारी सञ्चार माध्यमलाई सरकारको होइन राष्ट्रको सञ्चार माध्यम बनाऊ ।
पत्रकारिता सत्ताको भक्ति होइन, पत्रकारिता यस्तो पेशा हो जसले तिमी जे लुकाउन खोज्छौ, त्यो समाचार बन्छ । सत्तामा बसेका कम्युनिष्टहरुले आफू कम्युनिष्ट हुँ भनेर रटान रटेर कम्युनिष्ट बनिने होइन । कम्युनिष्ट हुन कम्युनिष्ट आचरण चाहिन्छ ।
कुनै बेला कम्युनिस्ट नेता भ्लादिमिर लेनिनले आफ्नो सरकार जनताप्रति कति प्रतिबद्ध छ भन्ने कुरा पोलिटब्युरोका सदस्यले राखेको तर्कका आधारमा नभई प्रतिपक्षले गरेका प्रश्नका आधारमा हुनुपर्छ भनेका थिए । त्यसैले जनताप्रति प्रतिबद्ध हुने हो भने प्रतिपक्षका कुरा सुन । जनताका कुरा सुन, जनताका सुख, दुःख थाहा पाउ । त्यसका लागि गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यमहरूलाई सत्ताको र सत्तारुढ दलको रोल क्रम अनुसार भक्ति गान गाउन नलगाऊ ।

Leave a Reply