बालबालिकामैत्री प्रादेशिक अस्पताल बनाउन उपचार कक्षको छेउमै बाल उद्यान सञ्चालन

रुपन्देही । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरूलाई शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त बनाउन बाल उद्यान सञ्चालनमा ल्याएको छ ।

बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन नयाँ अभ्यासको सुरुवात गरेको हो ।

अस्पतालको बाल रोग तथा प्रसूति विभाग कक्ष अगाडि बगैँचा निर्माण गरी उनीहरूलाई खेल–खेली स्वास्थ्य सेवा लिने व्यवस्थाको सुरुवात गरिएको हो ।

अस्पतालका बाल रोग विशेषज्ञ नेत्र रानाका अनुसार पछिल्लो समय बालरोग उपचार तथा परामर्शका लागि आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

बाल रोग उपचारलाई विशिष्टीकृत गरी अघि बढाउने योजना अनुसार सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने अभियानमा आफूहरू रहेको उनले बताए ।

बाल रोग विभागका प्रमुख डा. किरणमणि पौडेलले बालबालिकाहरू सूक्ष्म मस्तिष्कका कुनै पनि नकारात्मक प्रभाव र डर त्रास बिना नै उपचार सेवा उपलब्ध गराउन उद्यान सहयोगी हुने बताए ।

अस्पतालमा बाल रोग उपचारका लागि १२ वटा एनआइसियू, १५ वटा नर्सरी तथा ३० सामान्य उपचार कक्ष रहेका छन् ।

एक महिनाभित्र थप ६ बेडको पीआईसियू सञ्चालनमा ल्याउने तयारी रहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा यसअघि नै प्रसूति तथा बालरोग उपचारका लागि छुट्टै नमुना संकलन केन्द्र समेत सञ्चालनमा ल्याएको छ ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले बालबालिकाहरू अस्पतालभित्र आएपछि उनीहरुमा उत्पन्न हुने डर, त्रासलाई कम गर्न मानसिक रूपमा स्फूर्त तथा स्वास्थ्य उपचारबारे सकारात्मक सन्देश दिने खेली–खेली सेवा लिने वातावरणको निर्माणमा उद्यान सहयोगी हुने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *