काठमाडौं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले बालकुमारीमा भएको घटनामा प्रहरी र सरकार जिम्मेवार रहेको ठहर गरेको छ । अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै घटनामा प्रहरीले दमन गरेको उल्लेख गरेका छन् ।
दक्षिण कोरिया जान चाहेका युवाहरूले आन्दोलनका क्रममा सरकारको मन्त्री सवार गाडीमा आगजनी गरेको निउमा बेरोजगारको पीडाले छटपटिएर आएको युवामाथि प्रहरीले दमन गरेको अनेरास्ववियुले जनाएको छ । त्यस क्रममा दुई जनाको ज्यान गएको प्रति भर्सना गरिएको छ ।
आन्दोलनमा पक्राउ परेका युवाहरूलाई तत्काल रिहा गर्न, मृत्यु भएका युवाहरूको परिवारलाई उचित क्षतिपूर्ति दिन घाइतेको उपचारको व्यवस्था गर्न पनि अनेरास्ववियुले सरकारसँग माग गरेको छ ।
‘गम्भीर परिस्थितिलाई प्रहरी दमनबाट होइन आन्दोलनरत युवाहरूको पिर मर्का बुझी वार्ता र संवाद मार्फतबाट समाधान गर्न अनेरास्ववियु सरकारसँग जोडदार माग गर्दछ’ अध्यक्ष बडालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आजको घटना घट्नुमा स्वयम सरकार र प्रहरी प्रशासन जिम्मेवार रहेको अनेरास्ववियुको ठहर छ ।’
देशमा रोजगारीको अवसर दिन नसक्ने सरकारले युवाहरूमाथि दमन गरेको विज्ञप्तिमा भनिएको छ । देशमै रोजगारीको सिर्जना गरेर युवा पलायन रोक्न पहल गर्नुको सट्टा दिउँसै युवाहरू माथि गोली बर्साउने सरकारको गलत रवैयाको भण्डाफोर गर्न सशक्त आन्दोलनको लागि तयार रहन पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Leave a Reply