कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका स्थानीयले नगरपालिकाको कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका छन् । आफ्ना समस्याका बारेमा बारम्बार जानकारी गराउँदा पनि नगर सरकार गैर जिम्मेवार बनेको भन्दै वडा नम्बर ४ का स्थानीयबासीले कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका हुन् ।
उनीहरूले नदीजन्य पदार्थको मनोमानी रकम असुली बन्द गर्नु पर्ने, नदीजन्य पदार्थ बोक्ने ट्र्याक्टर तथा टिप्परहरुले उडाउने धुलो नियन्त्रण गर्नु पर्ने तथा जथाभाबी उत्खनन गर्दा भएको नदी कटान नियन्त्रण गर्नु पर्ने माग अघि सारेका छन् । तीन वटा माग सहित उनीहरूले वडा नम्बर ४ मा विगत ५ दिन देखि सडक अवरुद्ध गरेका थिए ।
समस्या समाधान तथा वार्ता संवादका लागि नगर प्रमुखलाई अनुरोध गर्दा गैर जिम्मेवार बनेको भन्दै बिहीबार नगरपालिका घेर्न आएको सङ्घर्ष समितिका संयोजक दान सिंह रतोकीले बताए ।
‘मैले सङ्घर्ष समितिको हैसियतले ५ दिन देखिको आन्दोलनको बारेमा जानकारी दिन र समाधानको विकल्प खोज्न मेयर शावलाई सम्पर्क गरे । तर मेयरले गाडी मात्रै किन मान्छे पनि बन्द गर्नुस् भन्ने गैर जिम्मेवार जवाफ दिनु भयो । त्यसैले हामी कार्यालय घेराउ गर्न आएका हौ । माग पूरा नभए सम्म आन्दोलन जारी रहन्छ’, उनले भने ।
नगर प्रमुख खडक बहादुर रावतले थुनिएको करिब १ घण्टा पछि कार्यालयबाट निस्किएर आन्दोलित स्थानीयलाई सम्बोधन गरे । रोयल्टीको विषयमा ठेकेदार सँग कुरा भइरहेको छ बताए ।‘ कालोपत्रे र तटबन्धको विषय मैले सम्बोधन गर्ने बित्तिकै हुने कुरा होइन । यसका लागि हामी गम्भीर छौ र प्रक्रियागत रूपमा अघि बढेका छौ । तत्काल धुलो नियन्त्रण गर्न सडक मर्मतको काम चाडै सुरु गर्छौ’, मेयर रावतले भने ।
दिनजन्य पदार्थ उत्खननको जिम्मा पाएको ठेकेदारले सरकार सँगको सम्झौता विपरीत मनोमानी चर्को कर असुलेको भन्दै स्थानीयले यस अघि देखि नै नगरपालिकालाई गुनासो गर्दै आएका थिए ।

Leave a Reply