काठमाडौं । गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ ।
विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको हो ।
पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले ८ महिना ३ दिन लगाएर प्रतिवेदन तयार गरेको थियो । जाँचबुझ आयोगले व्ल्याक बक्स, ककपीट भ्वाइसलगायत सबै विषयको अध्ययन अनुसन्धान गरेको जाँचबुझ आयोगका संयोजक घिमिरेले बताए ।
प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले आयोगले दिएको सुझाव कडाइका साथ मन्त्रालयले कार्यान्वयन गर्ने र मातहतका निकायलाई पनि कार्यान्वयन गर्न निर्देशन दिने बताए ।
पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएपछि सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

Leave a Reply