काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनको नियुक्त हुँदा पेश गरेको कागजात तीन दिनभित्र पेश गर्न संसदीय समितिले निर्देशन दिएको छ ।
बिहीबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई बोलाएर प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले गरेको छलफलमा पुनको नियुक्ति विवादमा परेको भन्दै नियुक्त हुँदा पेश गरेका कागजात तीन दिनभित्रै समितिमा पेश गर्न कोषलाई निर्देशन दिएको हो ।
समितिले दिएको निर्देशनमा भनिएको छ, ‘पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजात ९निर्णयको माइन्यूट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरण लगायत तीन दिन भित्र यस समितिमा उपलब्ध गर्न गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने ।’
समितिको बैठकमा सांसद एकनाथ ढकाल, शिशिर खनाल, धवल शमशेर राणा लगायतका सांसदले पुनको नियुक्तिमा मापदण्ड नपुगेको विषय उठाएका थिए । समितिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।
बैठकले पशुपति षेत्र विकास कोषको नाममा रहेको सम्पुर्ण जग्गाको शीघ्र एकिन र हाल साविक गरी कोषको नाममा लालपूर्जा लिने व्यवस्था गर्न पनि मन्त्रालय र कोषलाई निर्देशन दिएको छ । पशुपति क्षेत्र विकास कोषले आनन्द होटल प्रालीसँग गरकेो सम्झौताको विवरणसहितको विस्तृत जानकारी समितिलाई तीन दिनभित्र उपलब्ध गराउन कोषलाई निर्देशन दिएको छ ।
यस्तै पशुपति आर्यघाटमा शवको चापको आधारमा विद्युतीय शवदाह गृहको संख्या बढोत्तरी गर्न आवश्यक व्यवस्था गर्न कोषलाई निर्देशन दिएको छ भने समितिले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रको उपयुक्त समयमा स्थलगत अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन पुष चार गते नियुक्त भएकी थिइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो । यस अघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस एक गते सकिएको थियो ।

Leave a Reply