कैलाली । कैलालीको गोदावरी नगरपालिकाको कार्यालय फेरि उद्घाटन गर्ने तयारी गरिएको छ । २०७८ चैत १४ तत्कालीन मेयर हरिसिंह साउदले प्रशासनिक भवन उद्घाटन गरेका थिए । अहिले फेरि कार्यालयको उद्घाटन गर्ने तयारी गरिएको छ ।
वर्तमान मेयर वीरेन्द्र भट्टले त्यो बेला अधुरै भवन उद्घाटन गरिएको र अहिले भवन सम्पन्न भइसकेकाले उद्घाटन गर्न लागिएको बताए ।
यस विषयमा सबै वडाध्यक्ष र अन्य जनप्रतिनिधिहरुसँग छलफल भएको भन्दै मेयर भट्टले अहिले विवाद गर्नुको औचित्य नरहेको बताए ।
‘केही दिनअघि मैले सबैलाई बोलाएर यो विषयमा स्पष्ट पारिसकेको थिएँ । सबैले उद्घाटन गर्ने विषयमा सहमति जनाउनुभएको हो’, उनले भने, ‘एमालेबाट निर्वाचित वडाध्यक्षहरूले पनि सहमति जनाउनुभएको थियो । अहिले विरोध गर्नुको अर्थ छैन ।’
तत्कालीन मेयर साउदले शिलान्यास गरेको र अहिले आफ्नो कार्यकालमा निर्माण सम्पन्न भएको शिलालेख राख्ने गरी सहमति भएको मेयर भट्टले बताए ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले फेरि भवन उद्घाटन गर्ने कार्य गलत रहेको जनाएका छन् । आज उनीहरुले मेयर भट्टलाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् । उपमेयर शारदादेवी रोकायाको नेतृत्वमा ४ वडा अध्यक्षसहित १७ वडा सदस्यले हस्ताक्षर गरेर मेयर भट्टलाई पुनः कार्यालय उद्घाटन गर्न नहुने भन्दै ध्यानाकर्षण बुझाएका हुन् ।
‘एक पटक मेयरले उद्घाटन गरिसकेपछि फेरि उद्घाटन गर्ने भन्ने कुरा कसरी आउँछ, त्यस्तो हुनुहुँदैन’, उपमेयर रोकायाले भनिन्, ‘हामीले त्यो कामको विरोध गरेका हौं ।’
आगामी माघ ४ गते कार्यालय उद्घाटनको तयारी गरिएको छ।
उपमेयर रोकायाले भनिन्, ‘अधुरै हुँदा उद्घाटन भएको भए त्यो बेला नै रोक्नुपर्ने र विरोध गर्नुपर्ने, अहिले उद्घाटन भइसकेको कार्यालय फेरि उद्घाटन गर्ने भन्ने कुरा राम्रो होइन ।’
अघिल्लो कार्यकालमा उद्घाटन गरेका मेयर एमालेबाट निर्वाचित थिए भने अहिले उद्घाटनको तयारी गरेका मेयर कांग्रेसबाट निर्वाचित हुन् ।


Leave a Reply