जलवायु परिवर्तनले सीमान्तकृत परिवार बढी प्रभावित

हेटौंडा । विश्वव्यापी भैरहेको जलवायु परिवर्तनको असर सबैभन्दा धेरै सीमान्तकृत परिवारमा देखापरेको बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंले बताएकी छन् ।

‘जलवायु परिवर्तनः सीमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व’ विषयक बागतमी प्रदेशस्तरीय सम्मेलनमा उपसभामुख चापागाईंले जलवायु परिवर्तनको सीधा असर जल, जमिन र वनजंगलसँग आश्रित सीमान्तकृत परिवारमा परेको बताइन् ।

जलवायु परिवर्तनको असरबारे ठूला देश, ठूला शहरमा बहु तथा व्याख्या हुने गरेको तर सबैभन्दा ठूलो संंख्याको प्रभावित सीमान्तकृत जनतामाझ यो विषयले नछोएको उनको दाबी थियो ।

उनले जलवायु परिवर्तनले नदीमा आश्रित सीमान्तकृत मानिसहरुको गाँसबास खोसिएको, जमिनको प्रयोगबाट आफ्नो घर धानिरहेका अनि न्यून आय भएका मानिसहरुको जीवन थप असहज भएको बताइनु । उनले जलवायु परिवर्तनको असर रोक्न पर्यावरणमैत्री उद्योगमा सरकारले लगानी गर्नुपर्ने आवश्यक औंल्याइन् ।

चितवन सक्रिय महिला प्रतिष्ठान, मकवानपुर महिला समूह, स्वाम नेपाल, युथ अभियानको संयुक्त आयोजना तथा एक्सन एडको सहयोगमा उक्त अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठकले विश्वका ठूला मुलुकले गरेको कार्वन उत्सर्जनको असर नेपाली सीमान्तकृत जनताले समेत भोग्नुपरेकाले यो विषय अन्तर्राष्ट्रिय फोरममा गम्भीरतापूर्वक उठान गर्नुपर्ने बताइन् ।

माडी नगरपालिका चितवनकी मेयर ताराकुमारी महतोले जलवायु परिवर्तनको कारण पर्यटकीय क्षेत्रको रुपमा रहेको चितवनलाई समेत ठूलो संकट देखापरेको बताइन् ।

जलवायु परिवर्तनको असरले चितवनमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, वनस्पतिको नाश भएको उनको भनाइ छ ।

कार्यक्रमका अन्य वक्ताहरुले पनि जलवायु परिवर्तनको असर कृषि, पशुपालन, पर्यटनको क्षेत्रमा परेको बताए ।

सम्मेलनमा जलवायु परिवर्तन र अनुकूलनको लागि भएका नीतिगत व्यवस्था र सरकारले बजेट व्यवस्थापनमा कसरी जलवायु परिवर्तन र सीमान्तकृतको सवाललाई सम्बोधन हुने गरी अनुकूलनका कार्यक्रमसम्बन्धी सञ्चारमाध्यममा भइरहेका रिपोर्टिङका विषयमा अनुभव साटासाट गर्ने तथा सीमान्तकृत समुदायले भोगिरहेका समस्या र पारेको प्रभावका विषयमा छलफल हुनेछ ।

चितवन सक्रिय महिला प्रतिष्ठानकी कोषाध्यक्ष रञ्जु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिमा सिलवालले सहजीकरण गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *