लोकतन्त्रको आन्दोलन उठाउँदाकै आस्थाबाट अहिले पनि अटल रुपले निर्देशित छु: राष्ट्रपति पौडेल

बाग्लुङ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलन उठाउँदाकै आस्थाबाट अहिले पनि आफू अटल रुपले निर्देशित भएको बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवम् सातौं बाग्लुङ महोत्सव २०८० को बुधबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले भने, ‘जुन आस्था र विश्वास बोकेर २०४६ सालमा म धौलागिरीमा आन्दोलन उठाउन आएको थिएँ, त्यो आस्था र विश्वासबाट म आजपर्यन्त अटल रुपले निर्देशित छु ।’

देशको संविधान कठोर मेहनत र नेपाली जनताको रगत पसिनाले लेखिएको भन्दै उनले जनताले बनाएको संविधानलाई कसैले आँच पु¥याउन नसक्ने बताए ।

आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण गर्न, स्थानीय सम्भावना, उत्पादन र रोजगारीका अवसर वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यातलाई प्रोत्साहन गर्न जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

स्थानीयस्तरमा परम्परागत रूपमा सञ्चालित उद्योगहरूको प्रतिस्पर्धामक क्षमता अभिवृद्धि गर्न मेशिनरी प्रतिस्थापन प्रविधि सुधार तथा पूर्वाधार निर्माणका लागि सहुलियतपूर्ण कर्जा आवश्यक रहेको भन्दै उनले यसका लागि स्थानीय र प्रदेश सरकारले स्थानीय कच्चापदार्थमा आधारित लघु, घरेलु र साना उद्योगलाई बजार प्रवर्द्धनका कार्यक्रम दिन सक्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले गण्डकी प्रदेशलाई चीन र भारतसँग जोड़न त्रिवेणीसम्म पुर्‍याउन आफूले संविधानसभामा निकै मेहनत गर्नु परेको स्मरण गर्दै भने, ‘कालीगण्डकी कोरिडोर सम्पन्न गर्न, मध्य पहाडी लोकमार्ग निर्माण कार्य पूरा गर्न भइरहेका बीच–बीचका अवरोध हटाउन प्रतिनिधिसभाका तपाईंहरूले संसदमा आावाज उठाउनुहोस् म तपाईंहरूको साथमा छु ।’

प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको लागि हिलस्टेशनहरू विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले सांस्कृतिक, धार्मिक, साहसिक, कृषि, स्वास्थ्य तथा खेल पर्यटक आकर्षित गर्दै यस क्षेत्रको मौलिक संस्कृति संरक्षणमा महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गरे । पहिला फलाम र तामाको खानी भए पनि अहिले त्यसको उपयोग नभएको उल्लेख गर्दै उनले सम्भावित खानीको उपयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

उक्त अवसरमा राष्ट्रपति पौडेलले आफूसँगै बाग्लुङ कारागारमा जेल जीवन बिताउने साथीहरु गोविन्द कँडेल, तनहुँका लक्ष्मी आचार्य र यहीका नेता जगदीश उपाध्याय, रघुपति तथा ऋषि कँडेल, विष्णु गिरी, ढकप्रसाद, दिलप्रसाद र ईश्वरीप्रसाद कँडेल, मणिभद्र चालिसे र दिलप्रसाद सापकोटालगायतका बाह्रपन्ध्रजना भाइहरू, जेलमा दूध, तरकारी पु¥याइदिने सापकोटा बाजे र बाग्लुङ बजार बिँहु–लेखानी, पैयूँपाटा, कुश्मीशेरा र पर्वत फलेवास, मणिकुँवा अनि पाङ, ग्यादी र कुश्माका साथीहरूलाई स्मरण गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *