छिमेकी राष्ट्रहरुको प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्छ: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरुको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने बताएकी छन् ।

बेल्ट एण्ड रोड इनिसियटिभको १०औं वार्षिकोत्सव तथा नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८औं वार्षिकोत्सवको अवसर पारेर नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयमा साउथ एसिया नेटवर्क टेलिभिजन मिडिया ग्रुपले आयोजना गरेको दोस्रो चाइना-नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले उक्त धारणा राखेकी हुन् ।

उनले छिमेकीको विकासबाट नेपालले लाभ लिइरहेको र यसलाई गुणात्मक रुपमा बढाउनुपर्ने बताइन् ।

‘चिनियाँ सहयोगमा नेपालमा महत्वपूर्ण आयोजनाहरु अघि बढ्ने हाम्रो अपेक्षा छ । नेपाल-चीन सीमापार रेलमार्ग, केरुङदेखि काठमाडौं–लुम्बिनी रेलमार्ग जस्ता आयोजनाहरु अघि बढ्न सकेको खण्डमा यसबाट नेपालको समृद्धिमा नयाँ आयाम थपिनेछ’, मन्त्री शर्माले भनिन्, ‘छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सञ्चालन गर्ने विभिन्न परियोजनाहरुमा नेपाल राष्ट्र हित अनुकूल हुने गरी सामेल हुँदै आएको छ ।’

संसारमै सबैभन्दा धेरै जनसंख्या भएको चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले तीमध्ये वर्षेनी केही प्रतिशतमात्रै गौतम बुद्धको जन्मस्थल नेपाल आउने वातावरण बनाउन सकियो भने नेपालको पर्यटन प्रवद्र्धनमा कायापलट हुने उनले विश्वास व्यक्त गरिन् ।

नेपाल र चीनबीचको व्यापारदर बढाउनुपर्ने र नेपालले वर्षौंदेखि व्यहोर्दै आएको व्यापार घाटा कम गर्न चीनसँगको व्यापार सहयोगी बन्ने नेपालको अपेक्षा रहेको उनले औंल्याइन् ।

सञ्चारमन्त्री शर्माले जनताको अवस्थामा गुणात्मक परिवर्तन ल्याउनु सरकारको उद्देश्य रहेको बताइन् ।

‘त्यसका लागि सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल एजेण्डा बनाएर अघि बढेको छ । यसलाई कार्यान्वयन गर्ने सवालमा राजनीतिक क्षेत्रमा हुने कमीकमजोरीको मिडिया क्षेत्रले आलोचना र खबरदारी गर्दै आएको छ’, उनले भनिन्, ‘मिडियामा आउने यसप्रकारका आलोचना र खबरदारीले मात्र सरकारलगायत राजनीतिक शक्तिहरुलाई गलत बाटोमा जानबाट रोक्नसक्छ भन्ने वर्तमान सरकारको स्पष्ट धारणा रहेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *