काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषमा लक्ष्मी पुनलाई नियुक्त गरेकोप्रति राप्रपा नेपालको आपत्ति जनाएको छ ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले पशुपतिनाथ मन्दिरको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी बोकेको पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा गैरसनातनी र विधर्मी व्यक्ति मनोनित गरेकोप्रति आपत्ति जनाएको हो ।
संस्थाको आदर्श प्रति आस्था र विश्वास नहुने व्यक्तिबाट कसरी संस्थाको हित रक्षा हुन्छ? भन्दै महामन्त्री एवं सचिवालय प्रमुख भास्कर भद्राले प्रश्न गरे ।
यस्तै, संविधानको मर्म र भावना विपरित धार्मिक, साम्प्रदायिक विद्वेष र द्वन्द्व फैलाउने खालको अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्न माग गर्ने निर्णय गरेको बताए ।
उनले भने, ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्, तिनीहरुलाई जेलमा कोच्नुपर्छ भन्ने मन्त्री किरातीको भनाई आपत्तिजनक र दुराशयपूणर् रहेको छ । चौरानव्वे प्रतिशत सनातन धर्मावलम्बीहरूलाई अपमान गर्ने, चुनौती दिने यस्ता अभिव्यक्ति कदापि स्वीकार्य हुन सक्दैन ।’
मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र पशुपति क्षेत्र विकास कोषमा विधर्मी व्यक्तिको नियुक्ति सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउने र विदेशी धर्म स्थापित गर्ने कुत्सित मनशाय र नियोजित षडयन्त्रबाट प्रेरित रहेको निष्कर्ष निकालेको छ ।
विवादास्पद अभिव्यक्ति दिने मन्त्री किराँतीलाई तत्काल पदबाट वर्खास्त गर्न र पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति फिर्ता नगरिए सशक्त प्रतिवादमा उत्रन चेतावनी दिएको छ ।
मागहरु सम्बोधन नभएमा पौष ८ गते देशभर विरोध प्रर्दशन र पुत्लादहन गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply