हामीसित जे छ, त्यही कुरामा कृतज्ञ हुन सिकौं (भिडिओ)

कुनै समय इटालीका एक नामुद व्यापारी आफ्नो व्यस्त समयबाट फुर्सद निकालेर समुद्रको किनारमा टहलिन गए । ती व्यापारी किनारमा डुल्दै थिए, त्यसैबेला उसको नजर एउटा सानो डुंगामा पर्यो । उक्त डुंगामा एक माझी केही माछाहरु मारेर फर्कँदै थिए ।

ती व्यापारी माझी नजिक गए । र माझीलाई सोधे, ‘तिमीलाई यति धेरै माछा मार्न कति समय लाग्छ ? माझीले जवाफ दिए, ‘खासै धेरै समय त लाग्दैन ।

यत्रो माछा मार्न केही समय मात्रै लाग्छ भने माझी छिटै धनी हुन सक्ने अनुमान गरेर व्यापारीले, ‘अनि तिमी किन थप माछा मार्नै कोसिस गर्दैनौं त ?’

माझीले हाँसेर जवाफ दिए, ‘मेरो परिवारलाई खुवाउन, पालनपोषण गर्न यति नै माछा पर्याप्त छ । मेरो छिमेकीलाई पनि यति माछाले नै स्वाद चखाउन सक्छु ।’

व्यापारीले पुनः सोधे, ‘अनि बाँकी समय चाहिँ के गर्छौ ?’

माझीले भने, ‘माछा समातिसकेपछि घर फर्कन्छु । श्रीमतीसँग गफ गर्छु । बच्चाहरुसित खेल्छु । दिउँसो एकछिन सुत्छु । र उठेर केही समय पढ्छु । साँझमा साथीहरुसित बसेर गिटार बजाउँछु, गाउँछु, नाच्छु र रमाइलो गर्छु ।’

माझीको कुरा सुनेपछि व्यापारीले भने, ‘मैले व्यवसायमार्फत मेरो सम्राज्य खडा गरेको छु । यदि तिमी मजस्तै हुन चाहन्छौ भने मेरो साथ रहन्छ । अबदेखि फुर्सदिला समय समुद्रमै बिताऊ र धेरैभन्दा धेरै माछा समात । राम्रो पैसा कमाउन सक्छौ । अनि अझैं ठूलो डुंगा किन । कम्पनी स्थापना गर । र आफ्नो व्यवसायलाई अरु शहरहरुमा पनि विस्तार गर ।’

व्यापारीको कुराले चकित भएका माझीले प्रश्न गरे, ‘अनि त्यसपछि ?’

व्यापारीले हाँस्दै भने, ‘त्यसपछि तिमी आलिशान जिन्दगी बाँच्न सक्छौ ।’

माझीले फेरी सोधे, ‘अनि त्यसपछि ?’

‘त्यसपछि तिमी व्यवसायबाट अवकाश लिएर म जस्तै समुद्रको किनारमा घुम्न सक्नेछौ । बिहान सबेरै उठेर माछा मार्न सक्नेछौ । आफ्ना बालबालिकासँग खेल्न सक्नेछौ । श्रीमतीसँग रमाइलो समय बिताउन सक्नेछौ । दिउँसो आराम गर्न सक्नेछौ । साँझ साथीहरुसँग रमाइलो गर्न सक्नेछौ ।’

माझीले छक्क पर्दै सोधे, ‘अनि अहिले चाहिँ म के गरिरहेको छु त ? तिमीले भनेकै कुरा त गरिरहेको छु ।’

त्यसैले अरुसँग आफूलाई तुलना नगरौं । हरेक व्यक्तिको जीवनमा फरक फरक प्राथमिकता र सपना हुन्छन् । जुन कुराले कसैलाई खुसी दिन्छ, त्यही कुराले अर्को व्यक्तिलाई खुसी नदिन सक्छ ।

त्यसैले हामीसित जे छ, त्यही कुरामा कृतज्ञ हुन सिकौं । स–साना कुरालाई प्राथमिकतामा राख्न सिकौं । वरिपार, साथीभाइ, स्वास्थ्य र आफूले माया गर्ने कुराभन्दा ठूलो संसारमा अर्थोक छैन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *