बागमतीका मुख्यमन्त्रीलाई गाउँपालिका महासंघकाे ६ बुँदे ध्यानाकर्षण

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

महासंघ बागमती प्रदेश समिति अध्यक्ष कर्णबहादुर मगरको नेतृत्वको टोलीले सोमबार कर्मचारी समस्या समाधानलगायतका ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा प्रदेश समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गर्न, स्थानीय सरकारसँग सम्बन्धित कानून निर्माण गर्दा गाउँपालिका राष्ट्रिय महासंघको अनिवार्य सहभागिता गराउन, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि तालिम महासंघको सहकार्यमा गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।

त्यसैगरी गाउँपालिका महासंघ बागमती प्रदेश कार्यालय सञ्चालन गर्न अनुदानको व्यवस्था गर्न, स्थानीय सरकारको कर्मचारी सरुवा–बढुवा हुँदा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा मात्रै गर्न र दहत्तर बहत्तर संकलनलगायतका कानूनी जटिलता हटाउन महासंघले प्रदेश सरकारसँग माग गरेको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले गाउँपालिका महासंघले उठाएका कर्मचारी अभाव, दहत्तर बहत्तर संकलनलगायत स्थानीय सरकार सञ्चालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

टोलीले स्थानीय तहमा कर्मचारी अभावको समस्याबारे प्रदेश लोकसेवा आयोगका पदाधिकारी, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय र प्रदेश किताबखानाका निर्देशक अनिता तामाङसँग पनि छलफल गरेको थियो ।

टोलीमा महासंघ बागमती प्रदेश कार्यसमिति सचिव कान्छालाल जिम्बा, सहसचिव मानकुमारी पाख्रिन र सदस्य फणीन्द्र तिमल्सिनाको पनि सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *