काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्यापू संस्कृति विकास कोषले पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको छ ।
राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डलाई बसन्तपुरमा एक कार्यक्रमका बीच नागरिक अभिनन्दन गर्न लागेको सन्देशसहित सोमबार बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो ।
प्रधानमन्त्रीलाई राजनीतिक राज्य व्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवादउन्मुख लोकतन्त्र र सङ्घीयतालाई व्यवहारिक रुपमा लागू गरेको, नेपाल संवत्लाई सरकारी दस्तावेजमा उल्लेख गर्न र वागमती प्रदेशमा नेपालभाषा (नेवारी) र तामाङ भाषालाई मान्यता दिन अभिभावकीय भूमिका निर्वाह गरेकाले नागरिक अभिनन्दन गर्न लागेको कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले बताए ।
निमन्त्रणापत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले संस्कृतिमा धनी काठमाडौं उपत्यका आदिवासी ज्यापू जातिको संस्कृति, सङ्गीत, बाजाजागा, रीतिरिवाज, रहनसहनलगायत सामाजिक, सांस्कृतिक उत्थानको लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘नेपाल संवत्लाई सरकारी दस्तावेजमा उल्लेख गर्ने र बागमती प्रदेशमा नेपालभाषालाई सरकारी मान्यता दिनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि हो । सङ्घीयता, लोकतन्त्र र गणतन्त्रप्रति एकथरीले अनावश्यक रुपमा प्रहार गर्ने दुस्साहस गरेको बेला काठमाडौंका नेवार समुदायले सरकारले गरेका निर्णयहरुलाई स्वागत गरेर अभिनन्दन गर्ने निर्णय गरेकोमा धन्यवाद दिन चाहन्छु ।’

Leave a Reply