रामकलेवासँगै सकियो सीता-राम विवाह पञ्चमी महोत्सव, अयोध्याका साधुसन्तलाई लोक गीतमार्फत गाली !

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरमा ‘राम कलेवा’ पश्चात साताव्यापी विवाह पञ्चमी महोत्सव आज विधिवत सम्पन्न भएको छ ।

भगवान श्रीराम, लक्ष्मण, भरत, शत्रुधन तथा अयोध्याबाट आएका जन्तीको रुपमा आएका साधुसन्तलाई जानकी मन्दिरले ५६ व्यञ्जनको भोजन गराएको छ । भोज चलिरहँदा मिथिलानी नारीहरु अयोध्याको प्रतिनिधित्व गर्ने साधुसन्तलाई लोक गीतमार्फत गाली गरिन् ।

मिथिलामा विवाहका बेला जन्तीलाई गाली गर्ने तथा ख्यालठट्टा गर्ने चलन छ । यो सदियौंदेखि चलिआएको परम्परा हो । भगवान श्रीरामको विवाहमा अयोध्यासहित भारतबाट जन्तीका रुपमा आएका साधुसन्तलाई आज भोजन गराउने बेला लोक गीतमार्फत गाली गरियो ।

विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर खुवाउने परम्परा छ । जुन विधिलाई मिथिलाञ्चलमा मौहक समेत भन्ने गरिन्छ । मौहकका लागि भगवान श्रीराम चारै भाइको रुपमा सुसज्जित बालकलाई जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा खीर खुवाइयो ।

खीर खाउ यौ दुलहा, खुब मटाउ यौ दुलहा
अपन चोटकल चोटकलसन गालके फुलाउ यौ दुलहा…

भगवान श्रीरामलाई खिर खुवाउने क्रममा मिथिलानी नारीहरु यस्तै लोक गीतहरु गाएर रमाइन् ।

मिथिलाञ्चलमा मौहकका लागि लगाइएको खीर बेहुलाले सहजै नखाने परम्परा रहेको छ । भगवान श्रीरामले खीर खान नमानेपछि मिथिलाका नारीहरूले गीतकै माध्यमले खीर खान आग्रह गरिन् ।

भगवान श्रीराम र सीता तथा साधुसन्तहरुलाई भोजन पश्चात दान दक्षिणा दिएर जानकी मन्दिरका महन्त रामरोषण दास ‘वैष्णव’ले विदाई गरे । यो विधिलाई ‘राम कलेवा’ भनिन्छ । योसंगै साताव्यापी विवाह पञ्चमी महोत्सव विधिवत सम्पन्न भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *