भिजिट भिसा सेटिङमा पक्राउ परेका अध्यागमन अधिकृत माओवादी प्रदेश अध्यक्षका ज्वाइँ, अरु कर्मचारी पनि संलग्न

काठमाडौं । सेटिङमा मोटो रकम लिएर भिजिट भिसामा विदेश पठाउने प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका केही कर्मचारी संलग्न रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

हाल पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले अन्य कर्मचारीको समेत मिलेमतो देखिएको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका एयरलाइन्स र अध्यागमनका कर्मचारीले एजेन्टलाई मोटो रकम दिएर सेटिङ गर्ने गरेको अधिकारीहरु बताउँछन् ।

‘प्राप्त रकम कर्मचारीहरुले बाँडेर लिने गरेको देखिन्छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् । अनुसन्धान अधिकारीका अनुसार सेटिङमा भिजिट भिसामा पठाएबापत अध्यागमनका कर्मचारीले मात्र प्रतिव्यक्ति ४० देखि ६० हजार रुपैयाँसम्म लिने गरेका थिए ।

‘सेटिङमा जाने यात्रुको लिस्ट पहिल्यै अध्यागमन कर्मचारीकहाँ पुग्ने गरेको प्रमाण हामीसँग छ । दैनिक २ सय ५० देखि ३ सय जनासम्म पठाउने गरेको देखिन्छ’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले भने । पक्राउ परेका अध्यागमन अधिकृत खड्का माओवादी नेतृ विमला केसीका आफन्त हुन् । केसी हाल प्रदेश सांसद छिन् भने कर्णाली प्रदेशकी पूर्वमन्त्री तथा माओवादी केन्द्र प्रदेश कमिटी अध्यक्ष हुन् ।

यो प्रकरणमा हालसम्म ट्राभल एजेन्सी सन्चालक, एजेन्ट, एयरलाइन्सका कर्मचारीलगायत पक्राउ परेका छन् । एयरलाइन्समा नेपाल एयरलाइन्सका मात्र कर्मचारी पक्राउ परेपनि अन्य ५ वटा एयरलाइन्सका कर्मचारी पनि संलग्न भएको प्रारम्भिक अनुसन्धानमा देखिएको ती अनुसन्धान अधिकृतले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका अध्यागमन अधिकृत खड्कासहित गिरोहका सदस्यहरुले एक हप्तामै मोबाइल फेर्ने गरेको देखिएको छ । ‘मोबाइलमा प्रमाण भेटिन्छ भनेर गिरोहले हप्तैपिच्छे मोबाइल फेर्ने गरेको देखिएको छ । अहिले पक्राउ परेका अधिकांशसँग नयाँ मोबाइल देखिन्छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरुले अनौपचारिकरुपमा आन्दोलनको धम्की दिएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार बाटामा हिँडिरहेका आफ्ना कर्मचारीहमाथि प्रहरीले क्षेत्राधिकार नाघेर धरपकड गरेको भन्दै कर्मचारीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

सरकारी कर्मचारीलाई पक्राउ गर्ने अधिकार अख्तियार अनुसन्धान आयोगलाई मात्र रहेको भन्दै उनीहरुले प्रहरीले निजामती कर्मचारीको मनोबल गिराउने काम गरेको बताएका छन् ।

Comments

2 responses to “भिजिट भिसा सेटिङमा पक्राउ परेका अध्यागमन अधिकृत माओवादी प्रदेश अध्यक्षका ज्वाइँ, अरु कर्मचारी पनि संलग्न”

  1. एल सि पाण्डेय Avatar
    एल सि पाण्डेय

    मानव बेचबिखन गर्ने जो सुकैलाइ कडाभन्दा कडा सजाय दिनुपर्छ। यो घटनाको प्रकृति हेर्दा निजामती कर्मचारी प्रशासन र राजनितीक रुपमा मिलेमतो हुन सक्छ ।

  2. ksp pyl Avatar
    ksp pyl

    गृहका कर्मचारीले मान्छे पिट्ने, बलत्कार गर्ने काम गरे भने पनि प्रहरीले समात्न मिलेन ? मान्छे बेच्ने सरहको काम गरे पनि समात्न मिलेन ? हुन्छ हन्छ हजुरहरू त महान आत्मा हो । यहाँहरूलाई कहाँ छुन मिल्छ र ? घुस राम्रै खाईदो रहेछ । खाएकैबाट ठगबन्धनका साँसद र सरकारका मन्त्रीलाई पनि लिअलि भाग पुर्याएमा आन्दोलन नै गर्नु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *