कैलाली । कैलालीको धनगढीमा अनशन बसिरहेका प्रा.डा. गोविन्द केसीले भोली सोमबार आफ्नो अनशन तोड्ने भएका छन् ।
गेटामा अनशन बस्न आएका केसीलाई विश्वविद्यालय पुनर्स्थापना दबाब दिन गठन गरिएको संघर्ष समितिले अवरोध गरेको थियो । त्यसपछि शुक्रवार बाटै उनले धनगढीको लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका थिए । उनले भोली अनशन तोड्ने तयारी गरेको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।
धनगढीमा अनशन बसेको तेस्रो दिनसम्म पनि सरकारले चासो दिएको छैन । बरु धनगढीमा केसीको अनशनलाई लिएर विवाद बढिरहेको छ । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको तयारी भइरहेको बेला केसीले प्रतिष्ठानको विषय उठाएर थप उल्झन झिकेको भन्दै विरोध भइरहेको छ ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय पुनर्स्थापना संघर्ष समितिले पत्रकार सम्मेलन गरेरै त्यसको विरोध गरेको थियो । शनिवार केसीको अनशन विरुद्ध धनगढीमा प्रदर्शन पनि गरिएको थियो । यता विरोधका बिच पनि केसीले आफ्नो अनशन तोड्ने भएका छन् ।
स्वास्थ्यमा समेत समस्या सृजना भएको र पूर्वनिर्धारित तीन दिने अनशन भएको हुँदा भोली तोड्न लागेको जैशीले बताए । आजै अनशन तोड्न आग्रह गरे पनि ७२ घण्टा नपुगेको भन्दै भोली अनशन तोडिने भएको हो ।
‘हामीले सत्याग्रह आज तोड्ने भनेका थियौँ तर, उहाँले ७२ घण्टा नपुगेकाले तोड्न मान्नुभएन’, उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । सरकारले पनि चासो दिएको छैन । उनका अनुसार डा. केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । अहिले केसी उठ्न सक्दैनन् ।’
२० औँ अनशन धनगढीमा सबेका केसीले २१ औँ अनशन पनि धनगढीमै थालेका हुन् । २० औँ अनशन १३ दिन जारी रहेको थियो भने २१ औँ अनशन केसीले तीन दिनमा तोड्न लागेका हुन् ।

Leave a Reply