सबै चिज काठमाडौं केन्द्रित भएर विकास हुँदैन: डा. बाबुराम भट्टराई

रूपन्देही । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको युगमा सबै चिज राजधानीमा मात्र केन्द्रित गरेर नहुने बताएका छन् । उनले मुलुकको राजधानी काठमाडौं प्रशासनिक केन्द्र र ऐतिहासिक स्थल भएको तर सबै चीज राजधानीमा केन्द्रित गर्नुपर्छ भन्ने सोच राख्न नहुने बताए ।

सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, ‘अहिलको युगमा भारतको अर्थतन्त्रसँग बढी नजिक र चीनको अर्थतन्त्रको पनि सम्भावना भएको मुलुकमा सबै चिज राजधानीमा मात्र केन्द्रित गरेर हुँदैन ।’

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आधुनिक अर्थतन्त्रका केन्द्रहरु अब काठमाडौंमा मात्र केन्द्रित हुन नसक्ने बताए ।

उनले प्रतिस्पर्धी अर्थतन्त्रमा आफ्नो क्षेत्रमा अरुलाई पस्न दिँदैनौं भन्ने सोच राखे त्यो आधुनिक अर्थतन्त्रसँग मेल नखाने बताए ।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्न श्रम भिसा सेन्टर, श्रम कार्यालय, स्वास्थ्य केन्द्रलगायतका पूर्वाधार स्वतः रहनुपर्ने बताए ।

नेता भट्टराईले एअर रुटका लागि भारत सरकारसँग केन्द्र सरकारले उच्चस्तरमा पहल गर्नुपर्नेमा जोड दिए । विमानस्थल पूर्ण सञ्चालन गर्न साथ, सहयोग र पहल गर्ने बताउँदै उनले विमानस्थल नियमित सञ्चालन हुन नसके सरकार र निजी क्षेत्रको खर्बौंको लगानी डुब्ने चिन्ता रहेको उल्लेख गरे ।

उनले भने, ‘लुम्बिनी–कपिलवस्तु क्षेत्र नेपालको सबैभन्दा ठूलो आर्थिक विकासको केन्द्र बन्नसक्छ ।’

विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग राख्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले मंसिर २४ गतेदेखि विमानस्थलको प्रवेशद्वार अगाडि धर्ना सुरु गरेको छ ।

डा. भट्टराईले विशेष आर्थिक क्षेत्र (सेज) हालसम्म राम्रोसँग सुचारू हुन नसक्दा आर्थिक विकास र रोजगारी सिर्जनामा असर पुगेको बताए । उनले पूर्वाधार बनाएर खाली राख्न नहुने बताए ।

कार्यक्रममा सिद्धार्थ सञ्जाल रुपन्देहीका संस्थापक अध्यक्ष अनिलकुमार ज्ञवाली, उपाध्यक्ष विष्णुप्रसाद शर्मा, महासचिव सञ्जय बजिमय, सह–कोषाध्यक्ष मधुप्रसाद पन्थी, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलगायतले बोल्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आवश्यक पहल गरिदिन पूर्वप्रधानमन्त्री डा. भट्टराईसँग आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *