टिप्परकाे ठक्करबाट दुई युवाको मृत्युको विरोधमा सडकमा टायर बालेर आन्दोलन

रुपन्देही । दाङमा टिप्परको ठक्करबाट मृत्यु भएका दुई युवाका आफन्तले न्याय नपाएको भन्दै घोराहीको तुलसीपुर चोकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनमा रहेका प्युठानको झिमरूक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलसहित एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्युठानको झिमरुक गाउँपालिका ४ बाङ्गेका वर्ष १८ का विशाल जिसी र नौबहिनी गाउँपालिका लुङका १८ वर्षका सागर केसी सवार रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई रा १ क १३०७ नम्बरको टिपरले ठक्कर दिएपछि ज्यान गएको थियो ।

मृत्यु भएपछि पीडित परिवारले पाउनुपर्ने उचित क्षतिपूर्ति, काज किरिया खर्च तथा मोटरसाइकल नयाँ पाउनुपर्ने मागलाई सम्बन्धित पक्षले बेवास्ता गरेपछि आफूहरू बाध्य भई सडक संघर्षमा उत्रिएको संघर्ष समिति संयोजक एवम् झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए ।

उनले टिपर व्यवसायी र पीडित पक्षबीच शनिवार दिनभर भएको वार्तामा टिपर व्यवसायी समितिले अवहेलना गर्दै पाँच(पाँच लाख बिमा बापतको रकम र किरिया खर्च बापत पचास हजार रुपैयाँ मात्रै दिने भनेपछि आफूहरू माथि अन्याय भएको महसुस गरी आन्दोलनमा उत्रिएको बताए ।

‘मामा भान्जाहरू एकै चिहान भएका छन् । मरेर जानेहरू फर्किन सक्दैनन् । परिवारमा पीडा परेको छ । यो बेलामा सहानुभूति समेत नदेखाएर उपेक्षा गरेर अन्याय गरिएको छ’ संयोजक पोख्रेलले भने ‘यो बेलामा प्रहरी प्रशासनले पनि खासै चासो देखाएको छैन । हामी पीडामा छौँ । यो बेलामा हामीलाई न्याय चाहिएको हो, पीडा चाहिएको होइन ।’

शनिवार दिनभर बसालेर आफूलाई न्याय दिनुको साटो बेवास्ता गर्दै लास लैजानुस्, बिमा र किरिया खर्च पचास हजार दिन्छौँ भनेर थप चित्त दुखाउने काम गरेको उनले बताए ।

मृतकका दाजु राजेश जिसीले क्षतिपूर्ति बापत १०-१० लाख पाउनुपर्ने, किरिया खर्च पचास-पचास हजार पाउनुपर्ने, नयाँ मोटरसाइकल पाउनुपर्ने, मृतकका नाममा स्मारक बनाउनुपर्ने तथा शवलाई प्युठान पुर्‍याई दिनुपर्ने आफूहरूको माग रहेको बताए ।

तुलसीपुरबाट घोराही जाँदै गरेको टिपरले दुई युवक सवार मोटरसाइकललाई घोराही १० झारबैरा चोकमा शुक्रवार राति सवा १० बजेतिर ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक रोल्पा रुन्टीगढी ९ का वर्ष २६ का ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।।

Comments

One response to “टिप्परकाे ठक्करबाट दुई युवाको मृत्युको विरोधमा सडकमा टायर बालेर आन्दोलन”

  1. कमल राई Avatar

    टिप्पर आतँक बढे बढेकै छन् , सरकारले ध्यान दिनु जरुरी छ 🤔 ट्राफिक प्रहरीले लाइसेन्स ब्लुबुक मात्रै चेकजाँच गर्ने होइन , सडकको व्यवस्थापन र सवारी साधनको अवस्थामा पनि ध्यान केन्द्रित गर्न पर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *