गंगासागरमा यसरी गरियो भगवान राम र सीताको मटकोर (तस्बिरहरु)

जनकपुरधाम । साताव्यापी सीता-राम विवाहपञ्चमी महोत्सव अन्तर्गत पाँचौ दिन आज मटकोर विधि गरिएको छ ।

भगवान राम र सीताको भेषमा सुसज्जित किशोर-किशोरीलाई बाजागाजा र झाँकीसहित गंगासागर पोखरी लगेर मटकोर गरिएको छ । मटकोर विधि हेर्न हजारौंको संख्यामा श्रद्धालु, साधुसन्त र सर्वसधारण सहभागी थिए ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीको दिन भगवान रामसँग जनकनन्दनी सिताको विवाह मैथिली परम्परा अनुसार भएको थियो । त्यसकै सम्झनामा हरेक वर्ष जनकपुरधाममा भव्यताका साथ सीता-रामको सांकेतिक विवाह गरिन्छ ।

वैवाहिक उत्सवमा सीता-रामको विवाहको वेदी बनाउनका लागि पवित्र जलाशय गंगासागरबाट माटो कोरेर लग्ने चलन छ । जुन विधिलाई मिथिलामा ‘मटकोर’ भनिन्छ । जलाशयबाट ल्याएको माटोले नै जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक मण्डपभित्र वेदी बनाउने गरिन्छ ।

सीता–रामको मटकोरमा सहभागी हुन जानकी मन्दिरबाट सहायक महन्त रामरोशन दास ‘वैष्णव’को अगुवाइमा सयौंको संख्यामा श्रद्धालुहरु गंगासागरमा पुगेर वैवाहिक गीत गाउँदै रमाइलो गरे ।

साताव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत छैठौं दिन अर्थात् भोलि सीता-रामको स्वयम्बर र वैवाहिक कार्यक्रम गरिने छ भने सातौं दिन रामकलेवा पश्चात विवाहपञ्चमी विधिवत सम्पन्न हुन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *