रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँदा मुलुकले आज दुःख पाइरहेकाे बताएका छन् । उनले भ्रष्टाचार रहेको मुलुक कहिल्यै माथि नलाग्ने बताए ।
नेकपा एस सिद्धार्थनगर नगर कमिटी रुपन्देहीको प्रथम अधिवेशनलाई शनिबार भैरहवामा सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।
उनले भने, ‘जहाँ भ्रष्टाचार छ, त्यो मुलुकमा रोजगारी सिर्जना हुँदैन, त्यो मुलुकमा स्थिरता, नियम र कानून केही लागू हुँदैन । भ्रष्टाचारले रोजगारी सिर्जना हुन दिदैन । उद्योग, व्यवसाय, कृषि र उत्पादन क्षेत्रको विकास हुन दिँदैन ।’ मुलुकले अहिले सुशासन र रोजगारी खोजेको र सुशासन र रोजगारी भएको मुलुक अगाडि जाने उनको भनाइ छ ।
नेता भुसालले सही नेतृत्व र विचार भएको पार्टी आवश्यक रहेको बताए । उनले भने, ‘विचारको हिसाबले हामी ठीक ठाउँमा छौं । अब एउटा कमी छ, नेकपा (एस)लाई ठूलो पार्टी बनाउनुपर्छ । आम जनताको बीचमा हामीले देशका लागि के सोचेका छौं, त्यो बताउनुपर्छ । पार्टीको राजनीतिक एजेण्डा दुनियाका सामू बनाउनुपर्छ ।’ राजनीतिलाई ठीक ट्रयाकमा ल्याउन सके १५–२० वर्षमा मुलुक कार्यापलट हुन सक्ने उनको भनाइ छ ।
महासचिव भुसालले पार्टी ठूलो मात्र भएर नहुने बताए । उनले केपी ओली नेतृत्वका कारण मुलुकले दुःख पाएको आरोप लगाए । उनले भने, ‘ओलीको कारण मुलुकको राजनीतिमा भूकम्प आयो । अहिले पनि पराकम्प आइरहेका छन् । बैंकको ऋण नतिर्नेले तर्साइरहेका छन् ।’

Leave a Reply