‘डाक्टर केसीले विश्वविद्यालयको प्रक्रियालाई बिथोल्न खोजे’

कैलाली । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रस्तावित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना विषयमा विवाद सृजना गर्न खोजेको आरोप लगाएका छन् ।

शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य विज्ञान विश्वविद्यालय पुनर्स्थापना संघर्ष समितिले यस्तो आरोप लगाएको हो ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय पुनर्स्थापना संघर्ष समितिका सह–संयोजक आनन्द भट्टले डाक्टर केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाए ।

‘विश्वविद्यालय निर्माणको प्रक्रिया धेरै अगाडी बढिसकेको छ यस्तो बेला प्रतिष्ठानको बिषय लिएर आन्दोलन गर्दा यो विषय गिजोलिन्छ’, उनले भने, ‘अहिले आन्दोलनले हाम्रो माग सम्बोधन गर्न अझै समस्या सृजना गर्छ ।’

डाक्टर केसीले विश्वविद्यालय बन्न नसक्ने आशय देखाएपछि विरोध गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले बताए ।

केसीले उठाएका अन्य सबै माग जायज भए पनि गेटामा प्रतिष्ठानको विषय सुदूरपश्चिमका लागि जायज नभएको उनले बताए ।

विश्वविद्यालय स्थापनाको विषय अघि बढिसकेको अवस्थामा फेरी प्रतिष्ठानको विषय लिएर गेटामै अनशन बस्नु यस क्षेत्रका जनताप्रतिको बेइमानी भएको भन्दै कुनै पनि हालतमा यस्तो हुन नदिने संघर्ष समितिको चेतावनी छ ।

शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष समितिले गेटामा ६ सय शय्याको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशवासीको माग विपरीत केसीले स्वास्थ्य प्रतिष्ठानको मुद्दा उठाएकाले अनशन बस्न नदिएको बताएको छ ।

डाक्टर केसी २० औँ अनशन पनि धनगढीमै बसेका थिए। २० औँ अनशन १३ दिनसम्म जारी रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *