वडा कार्यालयले कर्मचारीको स्वास्थ्य बिमा गर्दै

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–२ को कार्यालयले वडामा कार्यरत कर्मचारीहरूको स्वास्थ्य बिमा गराइदिने भएको छ ।

बिहीबार बसेको वडा समितिको बैठकले वडाभित्र रहेका सबै कर्मचारीहरूको स्वास्थ्य बिमा गराउने निर्णय गरेको वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

‘जनताको सेवामा खटिइरहेका कर्मचारीहरूको मनोबल बढाउनका लागि स्वास्थ्य बिमा गराउने निर्णय गरेका छौँ’ वडाध्यक्ष खड्काले भने ‘कुनै दुर्घटना भइहाले परिवारले ५ लाख रुपैयाँसम्म बिमा रकम पाउने छन् ।’

वडा कार्यालयका कर्मचारीहरू, वडाभित्र रहेका विद्यालयका शिक्षक कर्मचारीहरू र वडाभित्र रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कर्मचारी र एम्बुलेन्स चालकको स्वास्थ्य बिमा गराउने वडाले निर्णय गरेको हो ।

खड्काका अनुसार जनप्रतिनिधिहरूको पनि स्वास्थ्य बिमा गराइनेछ । वडाले स्वास्थ्य बिमा गराइदिनेको संख्या करिब ८० जना हुने खड्काले बताए ।

उनले भने ‘हामी सबै कर्मचारीहरूको लगत संकलन गर्दैछौं ।’ स्वास्थ्य बिमाका लागि आवश्यक पर्ने रकम वडाबाटै व्यहोरिने खड्काले जानकारी दिए ।

‘हामीले वैदेशिक रोजगारमा गएकाहरूको समेत स्वास्थ्य बिमा गराउने योजना बनाएका थियौंं’ वडाध्यक्ष खड्काले भने ‘तर, उनीहरू स्वयंको उपस्थिति हुनु पर्ने भएका कारण हाललाई त्यो कार्य गर्न सकिएन ।’

उनले वैदेशिक रोजगारबाट बिदामा फर्केका व्यक्तिहरूको पनि स्वास्थ्य बिमा गराइने बताए । उनले थपे ‘नयाँ कुनै व्यक्ति वैदेशिक रोजगारमा गएमा उनको स्वास्थ्य बिमा गराएर मात्रै पठाउने गरी निर्णय भएको छ ।’

वडा समितिले सानिमा लाइफ ईन्स्योरेन्स कम्पनीबाट स्वास्थ्य बिमा गराउने निर्णय समेत गरेको खड्काले बताए । कर्मचारीको उमेर अनुसार प्रतिव्यक्ति १ हजार ३ सय ५० देखि २ हजार रुपैयाँसम्म बिमा शुल्क लाग्ने सानिमा लाइफ ईन्स्योरेन्स कम्पनी दिपायल शाखाका प्रबन्धक डिकबहादुर महराले जानकारी दिए । बिमाका लागि आवश्यक कागजातहरू संकलनको कार्य सुरु भइसकेको समेत महराले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *