विराटनगर । नेकपा एमालेको जारी झुलाघाटचिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई अवरोध गर्ने गरी कोशी प्रदेशमा पहिचानवादीले आन्दोलन घोषणा गरेसँगै संगठनका अगुवाले भड्किलो अभिव्यक्ति दिइरहेका छन् । दुई दिनअघि मात्र गोपाल किरातीले पत्रकार सम्मेलनमा एमालेका नेतालाई घुर्मीमा ‘चिहान’ तयार पारेको हिंसात्मक भाषण गरेका थिए । आन्दोलन अरु नेताले भने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।
प्रदेशको नामकरणपछि आफूहरू निरन्तर आन्दोलित भएकाले पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित आन्दोलन पनि यसैको निरन्तरता भएको उनीहरूको भनाइ छ ।
‘लोकतन्त्रमा सबैले आफ्ना कार्यक्रमहरू गर्न पाइन्छ । हामीले कुनै दल, जाति विशेषलाई केन्द्रित गरी आन्दोलन गरिरहेका छैनौं’, किराँत राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईले भने, ‘हामी एजेन्डाका लागि आन्दोलन गरिरहेका छौ । मध्यपहाडी लोक मार्ग केन्द्रित बन्दको आयोजना पनि यसैको रूप हो ।’
उनले कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यहरू र पहिचानविरोधी अभिव्यक्ति दिनेहरूको विरुद्धमा आफूहरूले बन्दको आव्हान गरेको बताए ।
किराँत याक्थुङ्ग चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले आफूहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र धर्म निरपेक्ष राष्ट्रका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेको बताए ।
उनले भने, ‘ हामी लोकतन्त्रका विश्वास गर्छौं लोकतन्त्रमा कसैले कार्यक्रम गर्न नपाउने भन्ने हुँदैन । कसैको विरोध गर्न पाइँदैन भन्ने पनि हुँदैन । हामी शान्तिपूर्ण ढङ्गले हाम्रा विरोधका कार्यक्रम गर्छौं । ‘
एमाले देशको ठूलो दल भएकाले आफ्ना माग सुनाउन र बुझाउन आन्दोलनका कार्यक्रम राख्नुपरेको उनको जिकिर छ ।
उनले भने, ‘हामी कसैप्रति लक्षित छैनौं । हाम्रा माग पूरा होस् भन्न र माग सम्बोधन गरियोस् भन्नका लागि एमालेलाई माग सुनाउन चाहन्छौं । यसैका लागि एमालेको कार्यक्रममा हाम्रो विरोध रहन्छ । हामी हाम्रो एजेन्डा एड्रेस होस भन्ने चाहन्छौ ।’
आन्दोलनरत पहिचानसहितको प्रदेश नम्बर १ पुन: नामांकन अभियान समितिका संयोजक डाकेन्द्रसिंह थेगिमले पनि आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । हामी हिंसामा विश्वास गर्दैनौं उनले भने, हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासन लगाएर उत्तेजित नपारियोस् ।
एमालेले पहिचानसहितको प्रदेशको नामकरण गर्ने विषयमा उत्तेजक अभिव्यक्ति दिइरहेको छ । यसलाई सच्याएर आन्दोलनरत जनताको भावना बुझोस् भनेर हामीले विरोध गरेका हौं ।
उनले भने, ‘हामी एमालेलाई हाम्रा माग सुनाउन र बुझाउन चाहान्छौं ।’
एमालेले सुरू गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा मंसिर २६ गते उदयपुरको घुर्मीमा आइपुग्दैछ । सोही दिन एमालेले ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकास्थित हर्कपुरमा आमसभाको आयोजना गर्दैछ ।
सो सभा र कार्यक्रम लक्षित गरेर प्रदेश नम्बर १ पुन: नामांकन समितिले मध्यपहाडी लोकमार्ग बन्दको आव्हान गरेको छ । एमालेले संकल्प यात्रा जसरी पनि गर्ने र सङ्घर्ष समितिले अवरोध गर्ने बताएपछि मुठभेडको सम्भावना बढाएको छ ।
किराँती भन्छन्- चिहान कस्तो छ, मैले हेरेको छैन
पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्छ भनेर आन्दोलन गरिरहेका नेता गोपाल किराँतीले केही दिनअघि पाखण्ड कुरा गर्नेहरूको चिहान घुर्मीमा खनिसकिएको अभिव्यक्ति दिएका थिए ।
उनले नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रदेशको नामकरणपछि सच्चिन तयार छौं भन्दा पनि एमालेका नेताहरूले पहिचानविरोधी थप उत्तेजक कुरा गरेकाले एमालेको कार्यक्रमलाई प्रतिरोध गर्ने बताए ।
किराँतीले भने, ‘हामीले एमालेको कार्यक्रम रोक्छौ भनेका छैनौं । कोशीको पक्षमा मतदान गर्ने सांसद र पहिचानविरोधी अभिव्यक्त दिने नेताहरूलाई अवरोध गर्छौं भनेको बताए ।’
उनलाई चिहान खनिएको अभिव्यत्तिका विषयमा गरिएको जिज्ञासामा आफूले चिहान हेरिनसकेको बताए ।
उनले भने, ‘हामी हाम्रा कार्यक्रम गर्छौं । सत्ताको बल प्रयोग गरेर हामीमाथि दमन भयो भने चुप लागेर बस्दैनौं ।’
संवेदनशील छौं नेताहरू
आन्दोलनका क्रममा घुसपैठ हुने र हिंसा फैलाउन सक्ने विषयमा आफूहरू सचेत रहेको नेताहरूले बताएका छन् ।
‘हामीले पहिचानको आन्दोलनमा जाने सबै नेता तथा कार्यकर्ताहरूको पहिचान गरेका छौं । उहाँहरूलाई शान्तिपूर्ण आन्दोलन गर्न निर्देशन दिएका पनि छौं । यति हुँदा हुँदै पनि घुस पेठ हुने विषयमा सचेत छौ । हामी सम्भावित झडप मुठभेठ र आन्दोलनलाई संवेदनशील भएर हेरिरहेका छौं, याक्थुङ चुम्लुङका अध्यक्ष एक्तेनले भने ।
‘कसले चिहान खन्छौ भन्नु भो ? र के सन्दर्भमा भन्नु भयो ? मलाई थाहा छैन । यस्ता कुरा संयुक्त सङ्घर्ष समितको होइन यो उहाँको व्यक्तिगत कुरा हो’, उनले भने ।
एक्तेनले आफूहरूको आन्दोलनमा घुसपैठ हुन खोजिरहेको दाबी गर्दै यसमा सचेत रहेको बताए ।
यायोख्खाका उपाध्यक्ष तिलक राई जिम्मेवाररूपमा आन्दोलनमा प्रस्तुत हुने बताउँछन् ।
उनी भन्छन्, ‘मैले अहिले पनि एमालेका प्रदेशका अध्यक्ष घनश्यामजीसँग कुरा गर्न खोजिरहेको छु । हामी हिंसा हुन नदिने विषयमा सचेत छौं ।’

Leave a Reply