परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन् । उनी दोहा २१ औँ सम्मेलनमा सहभागी हुन शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री साउद शनिबार बिहान ७ः४५ बजे कतार एयरलाइन्सको विमानबाट दोहा प्रस्थान गरेका हुन् ।

परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात आइतबारदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा इजरायलमा वेपता भएका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनको सचिवालयले जनाएको छ ।

‘मन्त्रीज्यू दोहा सम्मेलनमा सहभागी हुन शनिबार बिहान कतार जानु भएको हो’, उनको सचिवालयले भन्यो, ‘कतार रहँदा हुने उच्चस्तरीय भेटमा उहाँले इजरायलमा हमासले नियन्त्रणमा लिएका विपिन जोशीको रिहाइका लागि आग्रह गर्ने विषय अत्यन्तै प्राथमिकतामा राख्नु भएको छ ।’

कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ । मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले शुक्रवारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए ।

उनले शुक्रबार दिउँसो उहाँसँग सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने अथक प्रयासकै निरन्तरता स्वरुप टेलिफोन संवाद गरेका हुन् ।

संवादका क्रममा मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत् यकिन गरिदिन, उनलाई सरक्षाको प्रत्याभूति दिलाइदिन र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा पहिलो चरणमा नै जोशीलाई प्राथमिकतामा राखिदिन आग्रह गरे ।

परराष्ट्रमन्त्री साउदले नेपालको इजरायलसँगको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि बतए । जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्यजस्तो मानेको र उहाँको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन व्यक्त गरे ।

यसअघि परराष्ट्रमन्त्री साउदले गत मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए ।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताउनुभएको थियो। नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको उनको भनाइ थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *