काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरलाले नेतृत्व भएन भन्नेहरुका लागि आफैंले भोट हालेर चुन्ने अनि अहिले भएन भन्न मिल्छ भन्ने जवाफ दिएका छन् ।
काठमाडौंमा चितवन-काठमाडौं प्रजातान्त्रिक संगमको १२ औं अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले हाँसी हाँसी कार्यकर्ताहरुलाई यस्तो भन्ने गरेको बताए । लोकतान्त्रिक पद्धतीमा आफैंले सहभागी भएर नेतृत्व चुनेपछि अहिले के भन्ने भनेर कोइरालाले जवाफ दिएका हुन् ।
‘तपाईं हामीले नै चुनेर पठाएको हो । सकियो । अब त्यसमा विवाद गरेर म उम्किन चाहन्नँ । सभापति उहाँ नै हो । भोट दिनेबेला त दिनुभयो अनि अहिले भएन भन्नुहुन्छ भन्दै म त हाँसी-हाँसी भन्छु । यो लोकतान्त्रिक परिपाटी हो’, उनले भने, ‘हामीले जति गर्न सक्ने हो त्यति गरेका छैनौ । गर्नुपर्छ गर्दै जानुपर्छ । महासमितिको बैठकमा हामीले छलफल गरौंला ।’
अहिले देशमा पपुलिज्मको जमाना आएको र नेपाललाई पनि गाँजेको कोइरालाले बताए । ‘हाम्रै साथीहरु पपुलिज्मको नाममा केही बोल्दैनन् । पपुलिस्टहरुले केही नाराहरु दिन्छन् । युरोपमा पनि पपुलिज्मले गर्दा सरकारै चेन्ज भयो तर अब त्यस्तो हुँदैन भन्ने अवस्था आइसक्यो’, उनले भने, ‘पपुलिस्ट नाराहरुले गाँजिरहेको छ । हाम्रा नेताहरुले त्यसो गर्दैछन् । यसलाई कम गर्नुपर्छ ।’

Leave a Reply